![]()
बीबीसी। हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । केही समयअघि यी दुई देशबीच शरणार्थी फिर्तागर्ने सम्बन्धमा सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय समुदायले त्यस सम्झौतालाई सहयोग गर्ने भएको हो ।
अन्तर्राष्ट्रिय समुदायको उक्त सहयोग म्यानमारले स्वीकार गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रतिनिधिहरुसँग भएको भेटवार्तापछि म्यान्माली विदेशमन्त्री आङ साङ सुचीले सो सहयोगप्रति समर्थन गरेकी हुन् । भेटवार्तापछि विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको हो ।
विदेशमन्त्री सुचीले ‘ती शरणार्थीको फिर्तीको प्रक्रियामा संयुक्त राष्ट्रसंघीय एजेन्सीको सहभागिता स्वागतयोग्य हो’–भनिन् ।
सो भेटकाक्रममा उनले शरणार्थी फिर्ताका लागि संयुक्त राष्ट्रसंघको संलग्नताले ती शरणार्थीहरुलाई पनि सुरिक्षतरुपमा आफ्नो देश फर्किनका लागि सघाउ पुर्याउने धारणा राखेको जनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रतिनिधिहरुले बंगलादेश र म्यानमारको भ्रमण गरी म्यान्माली शरणार्थीको अवस्थाकोबारेमा अध्ययन गरेका थिए । उनीहरुले सहायता उपलब्ध गराउन विश्वका दाता राष्ट्र तथा संस्थाहरुलाई आग्रह पनि गरेका थिए । राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा अझै सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउनेबारेमा पनि अहिले नै कुनै प्रगति नभएको निष्कर्ष पनि निकालेका छन् ।


