Breaking News.... EverestOnlineKhabar
August 31, 2026

आर्मेनिया: एक्ला उम्मेदवार प्रधानमन्त्री नबनेपछि तनाव

Loading

बीबीसी । सत्ताधारी रिपब्लिकन पार्टी अन्तरिम प्रधानमन्त्री बन्ने आफ्नो प्रयासको विपक्षमा उभिएपछि आर्मेनियाका विपक्षी नेता निकोल पासिनयानले आम हडतालको आह्वान गरेका छन्। उनले हड्ताल आह्वान गरे लगत्तै उनका समर्थकहरूले सडकमा अवरोध सृजना गरेर राजधानीमा सवारी आवागमन अस्तव्यस्त पारिदिएका विवरण प्राप्त भएका छन्।

राजधानी यारेभानमा दशौँ हजार समर्थकहरू सामु बोल्दै पासिनयानले सडक, रेल वे र विमानस्थल ठप्प पार्न आग्रह गरेका थिए। यसअघि प्रधानमन्त्री पदका एक मात्रै उम्मेदवार रहेपनि विपक्षी नेता पासिनयान संसदमा आवश्यक मत जुटाउन विफल भएका थिए। उनले पूर्व प्रधानमन्त्री सेर्ज सार्केस्यानलाई राजीनामा दिन बाध्य पारेको हप्तौँ लामो सरकार विरोधी प्रदर्शनहरूको नेतृत्व गरेका थिए।

समर्थकहरूलाई सम्बोधन गर्दै पासिनयानले शान्तिपूर्ण नागरिक अवज्ञाले मात्रै आर्मेनियाली जनताहरूको जित सुनिश्चित हुने बताए। उनले प्रहरीलाई पनि आन्दोलनमा सरिक हुन आग्रह गरेका थिए।

यसअघि रिपब्लिकन पार्टीले पासिनयानलाई प्रधानमन्त्री बन्न बाधा नपुर्‍याउने आश्वासन दिएका विवरण आएका थिए।

आर्मेनिया

तनाव कम गर्ने उद्देश्यले उक्त दलले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारी समेत दिएको थिएन्। तर नौ घण्टा चलेको संसदको बहसमा केही सांसदहरूले पासिनयानले सडकमा अराजकता श्रृजना गराएको आरोप लगाउँदै उनको प्रधानमन्त्री बन्ने योग्यतामा प्रश्न उठाएका थिए।

आफूले समर्थन नपाउने प्रष्ट भएपछि संसदमा बोल्दै पासिनयानले रिपब्लिकन पार्टीले आर्मेनियाली नागरिकहरू विरुद्ध युद्ध घोषणा गरेको बताए।

प्रधानमन्त्री चुनिन ५३ मत आवश्यक रहेकोमा उनको पक्षमा ४५ मत मात्र परेको थियो। यसअघि आफूले समर्थन नपाए उनकै शब्दमा राजनीतिक सुनामी ल्याउने चेतावनी  दिएका थिए। पासिनयानको आह्वानसँगै राजधानीको मूख्य चोकमा भेला भएका प्रदर्शनकारीहरूले सत्तारुढ दल विरुद्धको आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

संसदले एक हप्ता भित्र पुन: प्रधानमन्त्री चुन्नुपर्नेछ र यदी कोही पनि निर्वाचित नभए तत्कालै अर्को चुनावको आयोजना गराउनुपर्नेछ। यसअघि दश वर्षसम्म राष्ट्रपतिको पद सम्हालेका सेर्ज सार्केस्यानले अघिल्लो महिना प्रधानमन्त्रीको सपथग्रहण गरेको केहि दिनमै राजीनामा दिएका थिए।

सार्केस्यान प्रधानमन्त्री चुनिए लगत्तै आन्दोलन सुरु भएको थियो र प्रदर्शनकारीहरुले सत्तामा टासिरहने प्रयास गरेको भन्दै उनको चर्को विरोध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.