![]()
काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारी नै सुन तस्करीमा संलग्न भएको पर्दाफास भएसँगै नेपाल प्रहरीको नराम्ररी बदनाम भएको छ । यसले प्रहरी संगठनको छवि र विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न उठाएको छ । गृह मन्त्रालयको छानवीन समितिले साढे ३३ केजी सुन काण्डमा हालसम्म २८ जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये ६ जना प्रहरी अधिकारी छन् ।
सनम शाक्यको हत्याबाट सुरु भएको ३३ केजी सुन प्रकरणमा तानिनेमा डीआइजीसम्मका अधिकारी छन् भने तत्कालीन प्रहरी प्रमुखसमेत शंकाको घेरामा छन् । पक्राउ पर्ने प्रहरी अधिकारी बाहेक महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर र राजु महर्जन छन् ।
त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे लगायत छन् । प्रहरीले सुनका मालिक मानिएका गोरे भनिने चुडामणि उप्रेती अहिलेसम्म पक्राउ परेका छैनन् । उनीसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायतको सम्पत्ति भने रोक्का गरिसकिएको छ ।
शुरुमै पक्राउ पर्ने प्रहरी अधिकारीहरुमा पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का छन् । आइतबार मात्र प्रहरी नायब उपरीक्षक प्रजित केसी पनि पक्राउ परेका छन् भने गृह मन्त्रालयमा बयान सकेलगतै फरार भएका इटहरी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्जय राउत पनि पक्राउ परिसकेका छन् । पक्राउ परेका सबै प्रहरीलाई मुद्दा चलाइएको छ । अनुसन्धान समितिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पनि बोलाएको थियो ।
खत्री तिनै प्रहरी अधिकारी हनु, जो २३ माघ ०७३ मा दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेर केही दिन थुनामा बसेर अदालतको आदेशले धरौटीमा छुटेका थिए ।


