![]()
रूपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बनाउन भ्रष्टाचार अन्त्य गर्नुपर्ने र त्यसका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई बुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘“म भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन र भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ ।”
प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रसंघले अगाडि सारेको सन् २०३० सम्मको दिगो विकासको लक्ष्यलाई पूरा गर्न वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा महत्वपूर्ण कार्यक्रमलाई अगाडि बढाउने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा छिमेकी देशसँगको सम्बन्ध केही समस्या भए पनि अहिले वर्तमान अवस्थामा ती समस्याको समाधानको बाटोमा रहेको बताउँदै भन्नुभयो , “हामीले छिमेकीसँगको सम्बन्ध र अन्य देशसँगको सम्बन्ध एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा बराबरी छ र आफ्ना आन्तरिक मामिलामा अरुको रुचि, चासो, स्वार्थ घुस्न दिनुहुन्न भन्ने कुरालाई हामीले स्थापित गरेका छौँ ।”
प्रधानमन्त्री ओलीले ‘सिण्डिकेट’ तोड्न खोज्दा निकै ठूलो प्रतिरोधको सामना गर्नुपरेको बताउँदै अनुचित कुराहरुमा सरकारको कुनै सम्झौता नहुने र कानूनको राज्यमा विभिन्न खाले सेटिङ मिलाउने र अनुचित बल प्रयोग गरेर जनतालाई दुःख दिनेजस्ता कार्यसँग सम्झौता नगरिने समेत स्पष्ट पार्नुभयो ।


