![]()
काठमाडौं । नेपाली कांग्रेसमा चुनाव हारको जिम्मेवारी कसले लिने भन्ने विषयमा चर्को विवाद भएको छ । जारी केन्द्रीय कार्य समितिले पारित गर्ने प्रस्तावमा तीनै तहको चुनावमा पार्टी पराजित हुनुको जिम्मेवारी कसले लिने भन्नेमा विवाद भएको हो ।
महामन्त्री शशांक कोइरालाले औपचारिक रुपमा बैठकमा पेश गर्ने प्रस्तावमा सहमति जुट्न नसक्दा शनिबार बिहान ९ बजे बस्नुपर्ने बैठक अपरान्हसम्म बस्न सकेन । महामन्त्रीको प्रस्तावमा सहमति हुन नसक्दा बैठक प्रभावित भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले हारको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने ढीपी कसेपछि सहमति नभएको हो ।
महामन्त्रीको प्रस्तावमा चुनावी हारको कारण पार्टी नेतृत्वको भएको उल्लेख गर्नुपर्ने पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले अडान लिएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरुले भने नेतृत्वको कारण मात्र चुनावमा पराजय नभएकाले सामूहिक जिम्मेवारी लिनुपर्ने र त्यसैअनुसार प्रस्ताव पारित गर्नुपर्ने पक्षमा देखिएका छन् ।
शनिबार सभापतिले उठेका जिज्ञासाको जवाफ दिने र महामन्त्रीको आधिकारिक प्रस्ताव पारित गरेर बैठक समापन गर्ने तयारी छ । चुनावी समीक्षाका लागि कांग्रेसले चैत ९ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएको थियो ।


