![]()
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित निर्वाचन वैशाख २२ गते हुने पक्का भएको छ । एन्फा निर्वाचनबारे उच्च अदालत पाटनले यसअघि दिएको अन्तरिम आदेश बुधबार खारेज गरेपछि निर्वाचन वैशाख २२ गते हुने पक्का भएको हो ।
यसअघिको अन्तरिम आदेश खारेज गरीपाउँ भन्दै एन्फाले दायर गरेको रिटमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश बिष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्ने फैसला गरेको हो ।
उच्च अदालत पाटनले गत चैत ७ गते एन्फाको १६ औं साधारणसभा तथा कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि गत चैत १४ गते तय भएको निर्वाचन स्थगित भएको थियो । एन्फाको निर्वाचन समितिले मुद्दाको किनारा लागेमा वैशाख २२ गते निर्वाचन गर्ने निर्णय गरेको थियो ।


