![]()
काठमाडौ,बैशाख ।
दार्जिलिङकी अभिनेत्री निरुता सिंह नेपाली चलचित्रमा फिल्म‘दक्षिणा’ बाट इन्ट्री गरेकी थिइन् । सो फिल्ममा उनका कोस्टार थिए भुवन केसी । अहिले निरुता नेपाली चलचित्रबाट पलायन भइसकेकी छिन् । भुवन केसी पनि अभिनयभन्दा निर्माण र निर्देशनमा सक्रिय छन् । बरु भुवन केसीका छोरा अनमोल ठूला स्टार भएका छन् ।
जतिबेला निरुता नेपाली चलचित्रमा जमेकी थिइन्, अनमोल केसी सानै थिए । उनी ज्ञानोदय स्कुलमा पढ्ने गर्थे । निरुता फिल्म सुटिङको सिलसिलामा सो स्कुल आसपास पुगिरहन्थिन् । निरुता सम्झिन्छिन्ः‘ज्ञानोदयको नजिक पुगेको बेला कहिल्यै पनि अनमोललाई नभेटी फर्किन्नथेँ ।’
अनमोल सानैदेखि क्यूट थिए । निरुता उनलाई काखमा बोक्थिन् । भुवन केसीसँग निकट सम्वन्धका कारण अनमोल उनलाई निकै प्यारा थिए । तर, अनमोल ठूला भएपछि निरुताले एकपटक पनि देखेकी छैनन् । उनी हिरो भए रे भन्ने सुन्दा निरुतालाई अचम्म लागेको थिए । अहिले त नेपाली चलचित्रका सुपरस्टार नै हुन् भन्ने सुनेकी छिन् । उनलाई औधि हर्ष लागेको छ ।
यतिबेला निरुता नेपालमा छिन् । उनी पाँच वर्षको अन्तरालमा नेपाल आएकी हुन्, एउटा अवार्ड समारोहमा भाग लिन ।अनमोललाई भेट्नेबाहेक निरुतामा अर्को इच्छा पनि बढेको छ । अनमोलकी हिरोइन भएर फिल्म खेल्ने । तर, जोडी सुहाउँदैन कि भन्ने डर पनि छ । निरुताले भनिन्ः‘तपाईंको जिभ्रोमा सरस्वतीको बास होस, मलाई अनमोलको हिराइन भएर खेल्ने अवसर जुरोस ।’ त्यसो त उनको नेपाल बसाई धेरै लामो छैन । १३ गते आयोजना हुने अवार्ड फङ्सनमा उनको नृत्य प्रस्तुति हुनेछ । त्यसपछि १४ गते नै फर्किने योजनामा छिन् । यद्यपि, यो बीचमा कुनै गतिलो फिल्मको अफर आयो भने प्लान अदलबदल पनि हुन सक्छ । झन् अनमोलकै अपोजिटमा आयो भने त कुरै भएन ।


