![]()
एजेन्सी,बैशाख ।
इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । सन् २०१७–१८ को सिजन प्रिमियर लिग फुटबलको उत्कृष्ट खेलाडी बन्दै सलाहले पीएफए प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् । प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने यो अवार्ड जित्ने क्रममा सलाहले मनोनयनमा परेका अन्य पाँच प्रतिस्पर्धीलाई पछि बनाए । सलाहले म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भा, केभिन डि बु्रने, विंगर लोरी साने, टोटनहृयामका हृयारी केन र म्यानचेष्टर युनाइटेड गोलकिपर डेभिड डि गियालाई पछि पारेका थिए ।
सलाहले यो सिजन लिगको ३१ खेलमा ३३ गोल गरिसकेका छन् । सलाह यो सिजन प्रिमियर लिगमा गोल्डेन बुटको होडमा समेत रहेका छन् । इजिप्टका सलाह रोमाबाट यसै सिजन लिभरपुल आएका थिए । प्रोफेसनल फुटबलर एसोसिएसनले प्रदान गर्ने बर्षको युवा खेलाडीको अवार्ड सिटीका २२ बर्षीय लोरी सानेले जितेका छन् । महिलातर्फको पीएफए प्लेयर अफ दि इयर अवार्ड चेल्सीका फ्रान किर्वीले जितिन् ।


