![]()
काठमाडौ,बैशाख ।
एमाले–माओवादीले सम्भावित ९ वैशाखको मिति टारेपछि आइतबार अर्था कम्युनिष्ट स्थापना दिवसको दिन दुवै अध्यक्षले सार्वजनिक कार्यक्रममार्फत पार्टी एकताको नयाँ मिति घोषणा गर्ने तयारी थियो । तर, आइतबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले मिति घोषणामा हतार नगर्न र पहिले पार्टी एकताका सम्पूर्ण प्राविधिक कामको टुंगो लगाउन अध्यक्ष दाहालमाथि दवाव बढाएपछि माओवादी पक्ष मिति घोषणाबाट भने पछि हटेको हो ।
तर, दाहालले त्यसलाई सार्वजनिक कार्यक्रममा चतुर्याइँपूर्वक जवाफ फर्काए । उनले भनेः‘हामीले १७ असोजमा धेरै हो–हल्ला गरेर हामीले संयोजन समिति गठन गरेका थिएनौं, तपाईंहरूलाई धेरै सरप्राइज लागेको थियो होला, एकैचोटि । तर, त्यसबेला अलि–अलि सरप्राइज नदिएको भए हुने थिएन । मेरो र कमरेड केपी ओलीको छलफल हुँदा हल्ला गरिसकेपछि त्यो दिन हुँदैन भन्ने बुझे हुन्छ । यहाँ अनेक मान्छे छन्, एउटा मात्र खेल छ भन्ने होइन, यतिबिघ्न स्वार्थ, विचार र प्रवृत्ति टकराइरहेका हुन्छन्, हामी त्यो दिन गर्छौं भनेर हुँदैन । जुन दिन भनिएको छैन, त्यो दिन ढ्याम्मै हुन्छ र गर्नै पर्छ पनि ।’
कार्यक्रम हलमा एकता संयोजन समितिले राखेको मूल ब्यानरमै माओवादी नेता–कार्यकर्ताले असन्तुष्टि जनाउँदै हुटिङ गरेपछि कार्यक्रम तीन घण्टा ढिलो गरी सुरु भएको थियो । पछि माओवादीका तर्फबाट पनि नयाँ ब्यानर ल्याएर राखेपछि मात्र दुई वटा ब्यानरमा कार्यक्रम भएको थियो।
यसले पनि दुई पार्टी एकतामा अझै मन मिल्न नसकेको देखाइरहेको थियो । तर, यसलाई पनि नेताहरूले ठूलो विषय नबनाउन आग्रह गरे । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले दाँतमा लागेको सानो ढुंगाको रूपमा यसलाई लिन आग्रह गर्दै एकता हुदैन भन्ने भ्रम नपाल्न आग्रह गरे । उनले निकट भविष्यमै पार्टी एकता हुने भन्दै नेता–कार्यकर्तालाई विश्वस्त पारेका थिए ।


