![]()
काठमाडौं । दुई पार्टी एकतामा ‘ब्रेक थ्रु’ गर्न भनेर मंगलबार बसेको एमाले–माओवादी संयोजन समितिको बैठकमा समितिका महत्वपूर्ण सदस्य झलनाथ खनाल अनुपस्थित रहे । पूर्व प्रधानमन्त्री एवम एमाले वरिष्ठ नेता खनाल पार्टी एकता सम्बन्धी महत्वपूर्ण निर्णय गर्नेबेला पूर्वी जिल्लाको भ्रमणमा छन । दुई पार्टी एक हुन दुनियाको कुनैपनि शक्तिले रोक्न नसक्ने भन्दै चट्टानी अडानमा बसेका खनाल बैठकप्रति उदासिन हुनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
वरिष्ठ नेता खनाललाई सुरुमा संयोजन समितिमा पनि राखिएको थिएन । एमाले अध्यक्ष केपी ओलीले उनको नाम काटेर महासचिव ईश्वर पोखरेलको नाम राखेका थिए । तर, पार्टीको स्थायी कमिटी बैठकमा चर्को बिरोध भएपछि अध्यक्ष ओली खनालको नाम पनि समितिमा राख्न बाध्य भएका थिए । पछिल्लो समय अध्यक्ष ओलीले खनाललाई राष्ट्रपति हुनबाट समेत रोके । पार्टी भित्र र बाहिर अनेक तिकडम गरेर ओलीले खनालको बाटो छेकी बिद्या भण्डारीलाई पार्टीकातर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउन सफल भए । खनाल आफैले राष्ट्रपति बन्ने इच्छा जाहेर गर्दा पनि अध्यक्ष ओलीसहित माधव नेपाल र बामदेव गौतमबाट सहयोग नपाएपछि उनको मनमा आगो दन्किएको थियो । लगत्तै उनले सक्रिय राजनीति गर्ने उद्घोष गरेका थिए । उनको भनाइको अर्थ आफूलाई सिध्याउन खोज्नेहरुलाई आफूले पनि बाँकी नराख्ने चेतावनीका रुपमा बुझिएको थियो ।
बैशाख ९ गते पार्टी एकताको घोषणा गर्ने तयारीका लागि बोलाइएको बैठकमा उनै नेता खनाल अनुपस्थित हुनु संयोग मात्र मान्न सकिन्न । एकताप्रति प्रतिबद्ध देखिएका नेता खनालले केही दिनअघि बिराटनगरमा बैशाख ९ गते एकता घोषणा नहुने संकेत गरिसकेका थिए । उनले भने जस्तै मंगलबारको शीर्ष नेता सम्मिलित समितिको बैठक पनि बिना निष्कर्ष टुंगियो । के खनाललाई पार्टी एकता हुँदैन भन्ने थाहा छ ? या, उनी सक्रिय राजनीतिको नाममा कुनै खतरनाक खेल खेल्दैछन ? राष्ट्रपति बन्नबाट आफनो बाटो छेक्ने ओली, नेपाल र गौतमलाई सबक सिकाउन कुनै योजना त बनिरहेको छैन ?
मंगलबारको एकता संयोजन समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन । एकतामा ढिलाइ हुँदै जानु र प्रचण्डले पनि असन्तुष्टि जाहेर गर्नु एकता बिथोलिने संकेतका रुपमा समेत परिभाषित गरिएको छ । अर्कोतर्फ प्रचण्ड र नेता खनालबीच बिगतदेखि नै घनिष्ट सम्बन्ध छ । खनाललाई प्रधानमन्त्री बनाउन प्रचण्डले खेलेको भूमिका र पछिल्लो पटक खनाललाई राष्ट्रपति बनाउन प्रचण्ड सकारात्मक हुनु उनीहरुबीचको सामिप्यताको प्रमाण हो । नेता खनालले पनि एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनसक्ने अभिव्यक्ति दिएर आपसी सम्बन्धको दरिलो प्रमाण चुनावकै बेला पेश गरिसकेका थिए । खनालको छाति भित्र बलिरहेको आगो अझै शान्त भएको छैन । सक्रिय राजनीतिमार्फत मुलुक र जनतालाई सेवा सुविस्ता पुर्याउनु मात्र नभइ आफनो उछितो काढ्नेहरुलाई तह लगाउनु पनि उनको प्रमुख उद्देश्य देखिन्छ ।
दुई पार्टीबीच महत्वपूर्ण संवाद चल्नुपर्ने बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालको अनुपस्थितिले एमाले अध्यक्ष ओलीसहित नेता नेपाल र गौतम पनि झस्किएका छन । उता, प्रचण्ड पनि ओली र नेपालसंग सशंकित भएकाबेला खनालको भूमिका पासा पल्टाउन महत्वपूर्ण हुने त होइन ? बजारमा यस्तै चर्चा छ ।


