Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । महान् फुटबलर पेलेले रूसमा हुने विश्वकपमा नेइमार चोटमुक्त भएर ब्राजिलको नेतृत्व गर्नुका साथै उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

दुबईमा एएफपीसँगको कुराकानीमा ७७ वर्षे पेलेले पेरिस सेन्ट जर्मेनका फरवार्ड नेइमार चोटमुक्त भएर टोलीमा फर्केनुका साथै ब्राजिललाई छैटौं विश्वकपको उपाधि जिताउने विश्वास व्यक्त गरेका हुन् । नेइमार भाँचिएको खुट्टाको उपचार गरिरहेका छन्।

‘के भइरहेको छ भनेर मलाई ठ्याक्कै थाहा छैन, तर उनी(नेइमार) विश्वकपसम्म फिट भइ सक्नेछन् । किनकि उनको चोट धेरै ठूलो होइन,’ तीन पटक विश्वकपको उपाधि उचाल्न सफल एक मात्र व्यक्ति पेले भने, ‘आशा गरौं विश्वकपमा उनको भाग्य पनि मेरोजस्तै हुनेछ।’
विश्वका सबैभन्दा महँगा खेलाडी नेइमार फ्रेन्च लिग वानअन्तर्गत मार्सेलेविरुद्धको खेलमा दायाँ खुट्टा भाँचिएपछि फेब्रुअरी २५ देखि मैदानबाहिर छन् । गत साता मात्र उनको शल्यक्रिया गरिए पनि जुन १४ देखि जुलाई १५ सम्म रूसमा हुने विश्वकपअगावै ठीक हुने विश्वास गरिएको छ।

चार वर्षअघि घरमै भएको विश्वकपमा ब्राजिल जर्मनीसँग सेमिफाइनलमा ७–१ ले पराजित भएको थियो । तर, साइकोलोजिस्ट टिटेको प्रशिक्षणमा ब्राजिलले दक्षिण अमेरिकी छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेकाले विश्वकपमा पनि त्यही लयले निरन्तरता पाउनेमा पेले विश्वस्त छन्।

‘म विश्वस्त छु । नयाँ प्रशिक्षक टिटेलाई टोलीको सन्तुलन मिलाउन केही समय लाग्छ । हामीसँग युरोपमा खेलेका थुप्रै राम्रा खेलाडी छन् । समस्या भनेको उनीहरूलाई एउटै टोलीमा राखेर सन्तुलन मिलाउनु हो,’ पेले थपे, ‘मलाई लाग्छ विश्वकप आउने बेलासम्म हामीसँग राम्रो टोली बन्नेछ।’

पेलेले लियोनल मेसीको अर्जे्न्टिना, जर्मनी, इङ्ल्यान्ड र फ्रान्स पनि उपाधि दाबेदार रहेको र प्रतियोगितामा आश्चर्यजनक नतिजा निकाल्न सक्ने बताए । तथापि उनले २०१० को विश्वकप विजेता स्पेन तथा क्रिस्टियानो रोनाल्डोप्रेरित युरोपियन विजेता पोर्चुगलको नाम भने लिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed