![]()
एजेन्सी,बैशाख ।
जर्मन बुण्डेस लिगा फुटबलमा सोमबार राती विश्वमा विरलै घट्ने एक रोचक घटना घटेको छ । बुण्डेस लिगा फुटबलमा सोमबार राति मेइन्ज र फ्रेइबर्गबीचको खेलमा रोचक घटना घटेको हो । घरेलु टोली मेइन्जले २ – ० को जित निकालेको खेलमा फुटबल इतिहासमा बिरलै देखिने घटना घटेको हो ।
मेइन्जको घरेलु मैदानमा भएको खेलमा ड्रेसिङ रुम पुगेका खेलाडीले मैदानमा फर्किएर पेनाल्टी हान्नुपरेको छ । पहिलो हाफ गोलरहित बराबरी सकिएपछि दुवै टोलीका खेलाडी ड्रेसिङ रुम फर्किएका थिए । तर, म्याच रेफ्री गुइडो विङ्कम्यानले दुवै टोलीलाई पुनः मैदानमा बोलाएर मेइन्जलाई पेनाल्टीको अवसर दिएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा फ्रेइबर्गका खेलाडीले गरेको ह्याण्डबल पुष्टि भएपछि रेफ्रीले ड्रेसिङ रुम पुगिसकेका खेलाडीलाई बोलाएर पेनाल्टी दिएका थिए । खेलको ४५ औं मिनेटमा मार्क ओलिभर केम्फले डिबक्स भित्र बल हातले रोकेका थिए । तर, रेफ्री विङ्कम्यानले केम्फको ह्याण्डबलबारे तत्काल निर्णय गर्न सकेनन् ।
पहिलो हाफ सकिएपछि मेइन्जका खेलाडीले अपिल गर्दा ह्याण्डबल भए नभएको निर्णय गर्न भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको सहायता लिईएको थियो । भीएआर प्रविधिले ह्याण्डबल पुष्टि भएपछि रेफ्रीले ड्रेसिङ रुम पुगिसकेका खेलाडीलाई मैदानमा बोलाएका थिए ।
उक्त पेनाल्टीमा मेइन्जका पाब्लो डी ब्लासिसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७८ औं मिनेटमा ब्लासिसले नै व्यक्तिगत दोस्रो गोल गर्दै मेइन्जलाई २–० को जित दिलाए ।
यस्तै खेलको दौरान फ्रेइबर्गका समर्थकहरुले मैदानमा ट्वाइलेट पेपर फालेपछि केहि समय खेल रोकिएको थियो । यो जितसँगै मेइन्जले ३० अंक जोडेर लिगको १५ औं स्थानमा उक्लिएको छ । जितपछि मेइन्ज रेलिगेसन जोनभन्दा एक स्थान माथि आएको छ । पराजित फ्रेइबर्ग ३० अंक जोडेर रेलिगेसन जोनमा झरेको छ । समान अंक भएपनि फ्रेइबर्ग गोलअन्तरमा मेइन्जभन्दा पछि परेको हो ।


