![]()
बीबीसी । अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनौं प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध हस्ताक्षर संकलन गरेका हुन् ।
अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा आक्रमण सुरु गरेको २४ घण्टा पनि नवित्दै उनीहरुले हस्ताक्षर संकलन सुरु गरेको जनाइएको छ । प्रदर्शनकारीहरुले पहेँलो व्यानर सहित ‘सिरियालाई मुक्त गर’, ‘सिरियामा अमेरिकाको युद्ध हुँदैन’, ‘सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यस्ले उनीहरुलाई मार्छ,’ जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।
उनीहरुले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए । उनीहरुले विभिन्न सहरहरुमा शृंखलाबद्ध रुपले प्रदर्शन गरेका छन् ।
सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रहरूमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका हुन् ।
यो हमला अहिलेका लागि पूरा भएको भएपनि अर्को आक्रमण पनि हुनसक्ने अमेरिकाले जनाएको छ । राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा अमेरिकाले सिरियाले रासायनिक आक्रमण बन्द नगरे अर्को आक्रमण हुने चेतावनी दिएको हो ।


