Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौ,चैत ।
नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को आठौँ बैठक आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ । बैठक भोलिसम्म चल्नेछ। इपिजी आफ्नो कार्यकालको अन्तिमतिर आइपुगेको छ। बैठक नेपाल र भारतमा पालैपालो बस्दै आएको छ। इपिजीको पहिलो बैठक (२०७३ असार २० र २१) को मितिले २ वर्ष कार्यकाल रहने व्यवस्था छ।
नेपालको तर्फबाट बैठकमा सामेल हुन लागेका सदस्य डा. राजन भट्टराईले बुधबार दिल्ली उड्नुअघि भनेः‘हामी प्रतिवदेनलाई अन्तिम रुप दिनेतिर जाँदै छौं। त्यसै विषयमा यसपटक विचार विमर्श हुने छ।’ यसअघि गत फागुन १२ र १३ मा काठमाडौंमा बैठक बसेको थियो।
बैठकलाई नेपाल र भारतबीचका सम्बन्धलाई पुनरावलोकन गर्ने तथा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा दुवै देशका सरकारलाई सुझाव दिने र सिफारिस गर्ने म्यान्डेट छ। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण (२०६८ कात्तिक ३–६) को बेलामा नेपाल भारत सम्बन्धको विविध आयामलाई समयानुकूल बनाउने र नयाँ तरिकाले परिभाषित गर्ने अभिप्रायले विज्ञ समूहको रायसुझाव लिएर सन्धि पुनरावलोकन गर्ने सहमति भएको थियो।
त्यस्तै ०७१ साउन १८–१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबीच इपिजी गठन गर्ने सहमति भएको थियो। केपी शर्मा ओली पहिलोपटक भारत भ्रमण (०७२ फागुन ७–१२) का बेला इपिजी सदस्य घोषणा भएको थियो।
इपिजीको नेपाली समूहमा पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा (संयोजक), पूर्वसांसद डा.राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय छन्। त्यस्तै भारतीय समूहमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी (संयोजक), प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती तथा कूटनीतिज्ञ जयन्तप्रसाद छन्।
इपिजी बैठकहरु
पहिलो बैठक– ०७३ असार २०–२१ (काठमाडौं)
दोस्रो बैठक– ०७३ असोज १८–१९ (नयाँ दिल्ली)
तेस्रो बैठक– ०७३ चैत २३–२४ (काठमाडौं)
चौथो बैठक– ०७४ जेठ १५–१७ (देहरादुन)
पाँचौँ बैठक– ०७४ असोज २१–२२ (काठमाडौं)
छैटौं बैठक– ०७४ पुष २७–२८ (नयाँ दिल्ली)
सातौं बैठक– ०७४ फागुन १२–१३ (काठमाडौं)
आठौं बैठक– ०७४ चैत्र २९–३० (नयाँ दिल्ली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.