![]()
वीरगञ्ज,चैत ।
भाडामा लिएर राखे पनि प्रयोगमा आउन नसकेको कलकत्ताको जग्गा छिट्टै प्रयोगमा ल्याउने सरकारले तयारी गरेको छ । वाणिज्य मन्त्रालयअन्र्तगत रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडले भाडामा लिएको ४ हजार ८ सय ८६ दशमलब १५ वर्ग किमी जमिन छिट्टै प्रयोगमा ल्याइने जनाएको छ । कलकत्ता बन्दरगाहको ४ नं. गेटको छेउमै रहेको जग्गा नेपालले सन् १९८४ मा भएको लिज एग्रिमेन्ट अनुसार नै भाडामा लिएर प्रयोग गर्दै आएको थियो तर पछिल्लो समय उपयोगविहीन छ ।
नेपाली व्यवसायीहरुले गत वर्ष कन्टेनरको विलम्ब शुल्कवापत तीन अर्बभन्दा बढी तिरेका थिए । उक्त जमिन प्रयोगमा आएमा नेपाली व्यवसायीहरुले भोग्दै आएको ड्यामरेज र डिटेन्सनको समस्यामा कमी ल्याउन मद्दत मिल्ने ठानिएको छ । कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत एकनारायण अर्यालले भाडा मात्रै तिरेर जग्गा राखेको जानकारी पाएपछि अस्थायी रुपमै भए पनि प्रयोगमा ल्याउन पहल गरिरहेको बताए ।
तत्कालका लागि उक्त जग्गामा नेपालका व्यवसायीहरुको सहजताका लागि कन्टेनर गोदाम बनाउने पक्रिया अघि बढेको कोलकत्तास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड (एनटिडब्लुसिटी) ले जनाएको छ ।
खाली जग्गामा झण्डै ४ सय कन्टेनर अट्नसक्ने क्षमता छ । तर जग्गा लिजको सम्झौता भने सन् २०१४ देखि नवीकरण गरिएको छैन । कोलकत्ता महानगर र कोलकत्ता पोर्टबीच करका विषयमा केहि असमझदारी रहेका कारण जग्गामा काम अघि बढाउन नसकिएको हो ।


