![]()
इन्डोनेसिया,चैत ।
इन्डोनेसियामा गैरकानुनीरूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको र दर्जनौं नागरिकलाई अस्पताल भर्ना गरी उपचार भरहेको यहाँका अधिकारीले जनाएका छन् । मदिरा सेवनबाट बिरामी परेका केही अरु व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतकको संख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन् ।
यस घटनापछि प्रहरीले विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाका विभिन्न सहरमा गैरकानुनीरूपमा बनाइएको घरेलु मदिरा छापा मार्ने र त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गर्न व्यापक खानतलासी गरिरहेको इन्डोनेसियाका सुरक्षा अधिकारीले बताए । धेरैजसो इन्डोनेसियाली नागरिकले इस्लामको नरम नीतिलाई अवलम्बन गर्दै मुलुकका ठूला सहरमा मदिरा बिक्रीलाई अभ्यास गर्दै आएका छन् ।
तर, चर्को करले‘ब्रान्डेड’ मदिराको मूल्य बढी हुन जाँदा न्यून आम्दानी भएका नागरिकले भने घरमा बनाइएको असुरक्षित मदिराको सेवन गर्ने गर्छन् ।
असुरक्षित मदिरा सेवन गरेर भएको पछिल्लो घटनामा विगत एक हप्ताको अवधिमा पपुवामा ८ सहित पश्चिमी जाभा क्षेत्रमा ५२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रहरी र स्वास्थ्यकर्मीले दिएको तथ्यांकमा छ ।


