Breaking News.... EverestOnlineKhabar
June 6, 2026

प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक र सफल : परराष्ट्रमन्त्री ज्ञवाली

Loading

एजेन्सी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत  भ्रमण ऐतिहासिकरुपमा सफल भएको बताउनु भएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा कुराकानी गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको हो ।

सन् २००६ देखि नेपालमा शुरु भएको राजनीतिक परिवर्तनको श्रृङ्खला नयाँ उचाइमा पुगेको, स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि महत्वपूर्ण भएको उहाँको भनाइ छ ।

भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गर्नुका साथै प्रतिनिधिसभाको तीन चौथाइ मतद्वारा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको शुभकामना दिनुभएको र नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विश्वाससमेत व्यक्त गर्नुभएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

भारत सरकारले काठमाडौँसँग रेल सञ्जाल विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भूपरिवेष्ठित मुलुकले पाउने समुन्द्रसम्मको सहज पहुँचलाई विस्तार गर्न जलयातायातलाई अगाडि बढाउने, कृषि तथा प्रविधिका क्षेत्रमा नेपाललाई सहयोग गर्ने जुन खालको प्रतिबद्धता जनाएको छ, त्यसले पनि नेपालले अगाडि सारेको आर्थिक समृद्धिको महान् यात्रालाई सम्बोधन गर्न बल पुगेको छ ।

सगरमाथादेखि सागरसम्मको सहज पहुँचलाई जसरी भारतले सम्बोधन गरेको छ, त्यसले नेपाल अब भूपरिवेष्टित होइन, भूमि जोडिएको तर पहुँच र सम्पर्क विस्तारका हिसाबले पनि थप सहज मुलुकका रुपमा समेत परिभाषित भएको छ । सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, खुला सीमाको व्यवस्थापन गर्ने विषय पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।

कृषिका आधुनिकीकरण र रुपान्तरणका विषय, रक्सौलदेखि काठमाडौँ जोड्ने रेल सञ्जालको विस्तार तथा नेपालले वर्षौंदेखि प्रयास गरिरहेको जलमार्गसम्बन्धी विषय पनि प्रभावकारीरुपमा उठाइएको छ ।

नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई व्यावहारिकरुपमा कार्यान्वयन गराउने विषय तथा आर्थिक समृद्धि प्राप्त गर्नका लागि आवश्यकपर्ने विषय तथा कार्यक्षेत्रका बारेमा समेत महत्वपूर्ण समझदारी भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

द्विपक्षीय तथा बहुपक्षीय छलफलमा नेपालको बढ्दो व्यापार घाटालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयले पनि महत्वका साथ प्राथमिकता पाएको छ । भारत–नेपालको ठूलो बजार हुनसक्ने र नेपाली उत्पादनले भारतको बजारमा सहज पहुँच पाउने हो भने पनि व्यापार घाटा कम गर्न सकिन्छ भन्नेतर्फ पनि छलफलमा प्रमुखताका साथ विषय केन्द्रित भएको थियो ।

वैदेशिक व्यापारमध्ये करीब ७० प्रतिशत व्यापार घाटा भारतसँग मात्रै हुने गरेको छ । भारत जस्तो ठूलो अर्थतन्त्र भएको मुलुकले नेपाली उत्पादनलाई सहज पहुँच दिनुपर्ने विषयलाई नेपालले स्पष्टका साथ कुराकानी गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

लामो समयदेखि चर्चामा रहेका हुलाकी सडक, माथिल्लो कर्णाली, अरुण तेस्रो, पञ्चेश्वरजस्ता बहुउद्देश्यीय आयोजना सम्पन्न गर्न सबैखालका संयन्त्रको परिचालन तथा व्यवस्थापन गर्नेतर्फ पनि नेपालले भारतीय उच्च अधिकारीसँग महत्वपूर्ण छलफल गरेको थियो ।

व्यापारको विस्तार, विविधीकरण तथा, दुई देशबीच रहेको व्यापार घाटा कम गर्न पनि नेपाली माल वस्तुको सहज बजारको पहुँचजस्ता विषयले पनि यसपटक प्राथमिकता पाएका थिए । नेपाल कुनै पनि प्रकारको आतंकवादको पक्षमा नरहेको, क्षेत्रीय शान्ति र विकासका साझा लक्ष्य चुम्न गर्नुपर्ने सबैखालका प्रयास गर्ने प्रतिबद्धतासमेत जनाइएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले उक्त साझा फोरमको मर्म र भावनाअनुसार काम गर्ने अवस्थाको सिर्जनाका लागि पनि दुई देशका कार्यकारी प्रमुखबीच छलफल भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली भन्नुहुन्छ, “नेपालले प्राप्त गरेको सफलतालाई थप संस्थागत गर्न तथा गराउन पनि भ्रमण कामयावी हुन पुगेको छ ।”
नेपाली ग्यास उद्योगीले भोग्नुपरेको समस्या, नेपाली विद्यार्थीले झेल्नुपरेको समस्यादेखि सीमा नाकालाई थप व्यवस्थित बनाउने सन्दर्भमा भएका छलफल तथा कुराकानीले पनि आफूहरुको साझा चासो र चिन्तालाई सम्बोधन गरेको मन्त्री ज्ञवालीको प्रष्टोक्ति छ ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत यस अवसरमा दिनुभएको छ । भारतीय राष्ट्रपतिले पनि नेपालका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।

विशेष गरी प्रधानमन्त्री ओलीको यसपटकको भ्रमण आर्थिक समृद्धिका विषयमा नै केन्द्रित भएकाले पनि त्ससबाट आगामी दिनमा पर्ने सकारात्मक प्रभावले नेपालको समृद्धिको यात्रालाई थप मजबुत बनाउने सहजै विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed