![]()
म्यान्यु,चैत ।
इंग्लिश प्रिमियर लिग फुटबलको म्यानचेस्टर डर्बी भिडन्तमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार राति भएको डर्बीमा युनाइटेडले म्यानचेस्टर सिटीलाई ३ – २ ले पराजित गरेको हो । युनाइटेडले सिटीलाई दुई गोलले पछि परेको स्थिति उल्टाएर उसैको घरेलु मैदानमा पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले दुई तथा क्रिस स्मलिङले एक गोल गरे । सिटीका कप्तान भिसेन्ट कोम्पानी र गुण्डुगानले एक एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
इदिहाद स्टेडियममा रोमान्चक बनेको खेलको २५ औं मिनेटमा कोम्पानीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । खेलको ३० औं मिनेटमा गुण्डुगानले गोल गरेपछि पहिलो हाफमा सिटीले २ – ० को अग्रता बनायो । तर, दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो ।
पहिलो हाफमा २ – ० ले पछि रहेको युनाइटेडले दोस्रो हाफमा लगातार तीन गोल गर्दै सिटीलाई उपाधि उचाल्नबाट रोक्न सफल भयो । खेलको ५३ औं मिनेटमा पोग्बाले गोल गर्दै खेल २ – १ मा ल्याए । पहिलो गोल गरेको दुई मिनेट नबित्दै ५५ औं मिनेटमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा स्मलिङले गोल गर्दै युनाइटेडलाई ३ – २ को महत्वपूर्ण जित दिलाए । यो हारसँगै सिटीले प्रिमियर लिगको उपाधि उचाल्न अर्को खेल पर्खनु पर्ने भएको छ । युनाइटेडसँग घरेलु मैदानमा स्तब्ध भएपछि सिटीले ट्रफी उचाल्ने मौका गुमाएको हो । लिगको शीर्ष स्थानमा रहेको सिटीलाई उपाधि जित्नको लागि एक जित आवश्यक रहेको छ ।
युनाइटेडसँग पराजित भएपनि लिगमा सिटी युनाइटेड भन्दा अझै १३ अंकले अघि रहेको छ । सिटीको ३२ खेलबाट ८४ अंक रहेको छ । लिगको दोस्रो स्थानको युनाइटेडको ७१ अंक रहेको छ । लिगको तेस्रो स्थानमा लिभरपुल, चौथोमा टोटनह्याम र पाँचौ स्थानमा चेल्सी रहेको छ ।


