![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दिवंगत एमाले नेता एवम् पूर्वसांसद जागृतप्रसाद (जेपी) भेटवालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पार्टी कार्यालय धुम्बाराही पुगी नेता खनालले भेटवालको पार्थिव शरीरमा फूल चढाउँदै श्रद्धाञ्जली दिनुभएको हो ।
भेटवालप्रति श्रद्धाञ्जली व्यक्त गर्न वरिष्ठ नेता खनालसंगै उपाध्यक्ष बामदेव गौतम, सुरेन्द्र पाण्डे, स्थायी कमिटीका सदस्य लगायत पार्टीका नेता कार्यकर्ता धुम्बाराही पुग्नु भएको थियो ।

लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका भेटवालको बुधबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । भेटवाल ‘प्रोष्टेट’ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । शरीरका सबै अंगमा क्यान्सर फैलिएर अवस्था गम्भीर भएपछि उहाँलाई वीर अस्पताल भर्ना गरिएको थियो ।
काभ्रे जिल्लामा जन्मिएका भेटवाल परिवारसहित २०२० सालमा चितवन आउनु भएको थियो । २०४६ सालमा भएको जनआन्दोलनमा तत्कालीन पञ्चायतले उहाँलाई कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेको भन्दै ३० वर्ष कैद वा फाँसीको सजाय सुनाएको थियो ।
२०४८ सालमा उहाँ चितवन क्षेत्र नम्बर–१ बाट सांसदमा निर्वाचित हुनुभएको थियो । उहाँलाई गाउँमा सामाजिक अभियन्ताको रुपमा पनि चिन्ने गरिन्छ ।
भेटवालको बुधवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


