![]()
सुर्खेत,चैत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववियु सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदेश ६ का भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् । नेविसंघ सम्बद्ध विद्यार्थीहरुले आज बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ । गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए । प्रहरीका अनुसार उनी सकुशल छन् ।
विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमा अहिले प्रदर्शन जारी राखेका छन् । विद्यार्थीहरुको प्रदर्शनमा तोडफोड हुन थालेपछि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय मध्यपश्चिमाञ्चलका विद्यार्थीहरु इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरु राखेर आन्दोलित हुँदै आइरहेका छन् । स्ववियू र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीनिकट विद्यार्थी उत्रिएपछि केही दिनअघि यहाँ दुई पक्षबीच झडप भएको थियो ।


