![]()
तिलक राज भण्डारी
माननीय मन्त्री ज्यू हरु !
तपाईहरुलाई बधाई दिनेको निकै भिडभाड छ, छिटोभन्दा छिटो मन्त्रालयको ब्रिफिङ लिनुछ । यथासिघ्र मन्त्रालयको कार्ययोजना बनाएर परिणाममुखी कार्यान्वयनमा उत्कृष्ठता हासिल गर्नुछ । तपाईको व्यस्त समयलाई हामीले धेरै डिस्टर्व गर्नु हुदैन भन्ने कुरा मलाई राम्ररी थाहा छ । यद्यपी यो खुल्ला पत्रमार्फत हार्दिक बधाई तथा सफलताको शुभेच्छा प्रकट गर्न चाहान्छु ।
तपाईहरु निकै क्षमतावान, लोकपिय, प्रभावशाली, र नेतृत्वदायी व्यक्तित्व हो भन्ने कुरामा हामीलाई कुनै संका छैन । बलिया प्रतिस्प्रधीहरुलाई पछि पार्दै जनताद्वारा निर्वाचित भएर आफ्नो लोकप्रियतालाई पुष्टी गर्नु भएको छ । पार्टी भित्रै मन्त्री बन्ने निकै हानथापका बावजुद पनि स्पष्ट दुईतिहाई बहुमत प्राप्त बलियो सरकारको मन्त्री बन्न सफल हुनु भएको छ । जनताको पक्षमा परिणाममुखी काम गरेर सफल नेतृत्वको रुपमा स्थापित हुने यो सुनौलो अवसर फेरी प्राप्त होला नहोला, यसपटक नै तपाईले आफूलाई सफल नेतृत्वको रुपमा सावित गर्नुछ । कठोर चुनौतिहरुको सामाना नगरी अपेक्षित सफलता चुम्न सकिदैन भन्ने कुरामा त हामी बीचमा दुविधा नहोला । यो खुल्लापत्रमार्फत केही चुनौति र अवसरको सन्देश प्रवाह गर्ने अनुमति चाहान्छु ।
नेपालको संविधान २०७२ को निर्माण सम्म आईपुग्दा जनयुद्ध, जनाआन्दोलन र संविधान सभाको निर्वाचनमा जनताद्वारा अनुमोदित गणतन्त्र, संघीयता, समावेशी तथा समानुपातिक प्रणाली र धर्मनिरपेक्षता लगायतका राजनैतिक एजेण्डाहरु संविधानमा सम्बोधन भएका छन् । संविधानको प्रस्थापनामा नै “…. समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण हुनेछ…” भन्ने कुरा उल्लेख भएको छ र अहिले संघीयताको कार्यन्वयन हुदैछ । तपाई हामीले भने जस्तै जनवादी क्रान्तिका आधारभुत कार्यभार पुरा भएको र संविधानको कार्यान्वयन गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने तथा समाजवादको आधार खडा गर्ने हो भने संविधानको कार्यन्वयन नै हाम्रो पहिलो चुनौति हुनेछ ।
संविधानको धारा १६ देखि ४६ सम्म निकै महत्वकांक्षी मौलिक हकहरुको व्यवस्था गरिएको छ । आधारभुत शिक्षा, स्वस्थ्य, खाद्य सम्प्रभुता, रोजगारी, आवास लगायतका आवश्यकतालाई मौलिक हकको महलमा राखिएको छ । धारा ४७ मा राज्यले संविधान लागु भएको तीन वर्षभित्र आवश्यक कानून बनाई मौलिक हकको कार्यन्वयन गर्नूपर्ने व्यवस्था गरिएको छ र संविधान लागु भएको दुईवर्ष बिति सकेको छ ।
यतिमात्र हैन संघीयताको समग्र कार्यन्वयन तथा निकै महत्वाकांक्षी संवैधानिक व्यवस्थाहरुको कार्यान्वयन समान्य चुनौतिको विषय अवश्य हैन । यसको अतिरिक्त शान्ति प्रक्रियासंग सम्वन्धित सत्य निरुपन तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगका विषयहरुको अन्तिम टुङ्गो लगाउन बाँकी नै छ । अन्यथा गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएका बालकृष्ण ढुङ्गेल जस्ता हजारौं नेता कार्यकर्ताहरु क्रमशः जेल जाने क्रम रोकिने छैन । शान्ति प्रक्रियासंग सम्वन्धित जनयुद्ध कालिन मुद्धाहरुको अन्तिम किनारा लगाउनु छ । शहीद तथा वेपत्ता साथीहरुको वास्तविक स्थिति सार्वजनिक गर्नुछ । प्रतिपक्षको अवरोधले कानून बनाउन र संविधान कार्यन्वयन गर्न जटिल्ता भयो भन्ने पुरानो तर्क दोह¥याउने सुविधा तपाईहरुलाई छैन ।
यो सरकार स्पष्ट दुईतिहाई बहुमत प्राप्त बलियो सरकार हो तपाईहरु त्यो बलियो सरकारको प्रभावकारी मन्त्री हुनुहुन्छ । यो सरकार र तपाईहरुले चाहेमा संविधानको संशोधन, कानुन निर्माण, ऐन नियम सबै परिवर्तन गर्नेसक्ने बहुमत तपाईहरु संग प्राप्त छ । मात्र तपाइहरुको योजना र इच्छाशक्तिको खाँचो छ ।
राजनीतिक रुपमा तपाई हामीले लामो समयदेखि वाम एकताको कुरा गा¥यौं र स्थायित्व को कुरा ग¥यौं । लामो प्रतिक्षा पछि आर्थिक समृद्धि, सामाजिक न्याय, स्थायित्व र सुशासन सहितको समाजवाद निर्माण गर्ने निकै महत्वकांक्षी चुनावी घोषणापत्रलाई अनुमोदन गर्दै वाम गठबन्धन जनताबाट स्पष्ट बहुमतसहित निर्वाचित भएको छ । सदन, सरकार तथा संघ र प्रदेशसम्म जताततै वामपन्थीहरुको बाहुल्यता छ । कुनै समयमा कांग्रेसको यस्तै हालीमुहाली थियो । आज परिस्थतिले कोल्टे फेरेको छ । यो चक्र दोहरिदैन भन्ने कुनै ग्यारेण्टी छैन ।
वामपन्थीको बलियो सरकारलाई बलियो प्रतिपक्षको रुपमा चुनौति गगन थापाले सदनमा दिसकेकै छन् । यी सबै चुनौतिको सामाना गर्दै आर्थिक समृद्धि र समाजिक न्यायसहितको समाजवादको आधार खडा गर्नु नै छ । समाजवादी अर्थतन्त्र को पहिलो आधार संघीय सरकार, सबै प्रदेश र प्रत्येक नागरिक आत्मनिर्भर हुनैपर्दछ भन्ने मेरो जिकीर छ । त्यसका लागि नेता, कार्यकर्ता र जनता सबैले अनिवार्य श्रम (मानसिक, शारीरिक, तथा आर्थिक लगानी ) गर्नैपर्दछ । दलाल र कमिशनको पुँजीले समाजवाद सम्भव छैन भन्ने कुरा मैले भन्नु पर्दैन होला । नेपालको प्राकृतिक साधान श्रोत तथा मानवीय जनशक्तिको तथ्याङ्क र विवरण त मन्त्रालयको फाईलमा व्यवस्थित गरिएकै होला । मानव विकासका सुचाङ्क र नेपालको स्थितिवारे विस्तृत विवरणहरु मन्त्रालयको फाईलमा नभेटिए पनि आईएनजिओ र एनजिओ ले पेश गरेको फाईलमा अवश्य भेटिन्छ । यी सबै साधन–श्रोत र तथ्याङ्कको वस्तुगत विश्लेषण र आगामी कार्ययोजनाका लागि दक्ष तथा प्राविधीक जनशक्ति त सेटिङ्ग गरिसक्नु भएकै छ होला । हामी भन्दा पनि जनता निकै स्वार्थी छन् । कुन मन्त्रीले कति समयमा के गर्ने प्रतिबद्धता र घोषणा ग¥यो भन्ने कुरालाई वास्तै गर्दैनन् स्पष्ट देखिने र अनुभुति हुनेगरी के परिणाम आयो भन्नेमा मात्रै आँखा लगाउछन् । यी सबै विषयहरुमा मन्त्री ज्यूहरुलाई हेक्का छ नै ।
तपाईले एउटा काम गर्दा सयौं प्रचार गर्ने तपाईका शुभचिन्तक र समर्थक तथा मिडियाहरुको साथ त तपाईलाई छदै छ । त्यसको साथसाथै तपाईको एक कमजोरीमा टेकेर हजारौं नकारात्मक प्रचार गर्ने मिडिया र आलोचकहरुको पनि कमी छैन । तपाईलाई सफल पार्न निशर्त सहयोग गर्ने सहयोगी हातहरु त छदैछन् तर तपाईलाई असफल पार्न भित्र र बाहिरबाट रातदिन षड्यन्त्र गर्नेहरुलाई पनि कम आक्नु हुदैन । विभिन्न भेष र स्वरुपमा तपाईहरुलाई असफल पार्ने पर्यत्न हुने नै छ । यो कुराको राम्रो हेक्का राख्नुहुनेछ ।
यति धेरै चर्चा गर्नुको अर्थ तपाईहरुले उच्च सावधानीपूर्वक काम गर्दै परिपक्व परिचालन मार्फत पार्टीको योजना र कार्यदिशा सफल पार्नुको साथै जनताको सेवा गर्ने कार्यमा आफुलाई श्रेष्ठ सावित गर्नु हुनेछ भन्ने नै हो । त्यसको लागि तपाईको काम गर्ने टिमलाई प्रभावकारी बनाउनु् जरुरी छ । कसैको दवावमा हैन कि तपाईलाई काम गर्न सजिलो सचिवालयको टिम निर्माण गर्नुपर्दछ । जसको सुझाव र सल्लाहको आवश्यक्ता र अर्थ ठान्नुहुन्छ उसको सुझाव र सहयोग लिनुहोस् तर अनावश्यक समय खर्च गर्नुहुदैन । तपाईहरुको सचिवालयको रेस्पोन्स तपाई जत्तिकै जिम्मेवार बनाउनै पर्दछ । कामको प्रचारलाई व्यवस्थित गर्नुहोस् । तर काम गर्ने प्रतिवद्धता र घोषणाभन्दा गरिसकेको कामको प्रचारमा जोड दिनु उपयुक्त हुन्छ ।
तपाईहरुको सफलता र असफलता राष्ट्र, पार्टी, पार्टी नेतृत्व, जनता तथा हामी सबैको सफलता र असफलतासंग जोडिएको छ । लामो द्वन्द्धबाट प्रभावित यो मुलुकको तिव्र विकास र समृद्धिको खाँचो छ । सबै प्रकारका विभेद र उत्पीडनहरु समाप्त गरी आर्थिक समृद्धि र समाजिक न्याय सहितको समाजवाद निर्माण गर्नुछ । भ्रष्टाचार, कमिशन, कालोबजारी, राजस्व छलीजस्ता अपराधहरुको नियन्त्रण गर्दै सुशासन स्थापित गर्नुछ । स्थायित्वकोलागि यो सरकार र तापईहरुलाई सफल बनाउनुछ र यो सरकार कम्तिमा पाँचवर्ष टिकाउनुछ । जसका लागि निशर्त रचनात्म्क सल्लाह सुझाव र खवरदारीका लागि यी मनुवाहरु पनि तपाईहरुकै साथमा छन् । तपाईहरुले गरेका प्रगति विवरणहरु सम्प्रेशन गर्दैगर्नुहोला हामी यस्तै खुल्लापत्रमार्फत जनतासम्म पु¥याउने र तपाईहरुलाई हौसला प्रदान गरिरहने प्रतिज्ञा सहित अहिलेलाई ओझेल पर्छु ।
उही तपाईको शुभेच्छुक : तिलक राज भण्डारी

