![]()
बीबीसी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ बर्षको उमेरमा निधन भएको छ।
श्रीमान जेलमा रहँदा दशकौँसम्म रंगभेद विरोधी आन्दोलनमा विनी माडिकीजला मण्डेलाको ठूलो प्रभाव रहेको थियो । उनको परिवारका एकजना प्रवक्ता भिक्टर द्लामिनीले भने, “आफ्ना परिवार तथा प्रियजनको उपस्थितिमा उहाँको निधन भयो।“
भूतपूर्व आर्च्विशप तथा नोबेल पुरस्कार विजेता डेसमण्ड टुटुले रंगभेदवादी शासनविरुद्ध संघर्षको एक सुपरिचित प्रतीक भन्दै उनको प्रशंसा गरे।
श्रीमती मण्डेलाको जन्म सन् १९३६ मा दक्षिण अफ्रिकाको पूर्वी केपमा भएको थियो। उनी विरुद्ध सन् असीको दशकमा सोवेतो नगरका केही भागमा आतंक फैलाएको आरोप लगाइएको थियो। तर उनले ती आरोपहरुको खण्डन गरेकी थिइन्।
सन् १९९० मा मण्डेला लामो जेल जीवनबाट रिहा भएको केही वर्ष भित्रै उनीहरुको संबन्ध बिग्रियो। सन् १९९६ मा पारपाचुके पछि पनि उनले पतिको थर छाडिनन् र आफ्ना पूर्व पतिसंग उनको भेटघाट कायमै थियो।


