![]()
एजेन्सी,चैत ।
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबारदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् । जसमा पहिलो खेलमा रियल मड्रिड र युभेन्टस तथा सेभिल्ला र बार्यन म्युनिख आमनेसामने हुँनेछन् । च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियलले पहिलो लेगमा युभेन्टससँग एलिनाज स्टेडियममा राति पौने एक बजे खेल्नेछ ।
रियाल प्रशिक्षक जिनेदिन जिदानको पूर्व क्लब युभेन्टसविरुद्धको खेलमा क्लबका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस, मिडफिल्डर इस्को टिममा फर्किनेछन् । ला लिगा अन्तर्गत लास पाल्मोसविरुद्धको खेलमा यी खेलाडीलाई आराम दिइएको थियो । तर डिफेन्डर नाचो भने चोटका कारण उपस्थित हुने छैनन् ।
यता घरेलु मैदानमा युभेन्टसका डिफेन्डर मेधी बेनाटे र मिडफिल्डर मिरालिम पिजानीकले खेल्न पाउनेछैनन् । दुवै खेलाडी प्रतिबन्धमा परेका छन् । रियल र युभेन्टसको यो युरोपियन प्रतियोगितामा २० औं भिडन्त हुनेछ । यसअघि खेलेका खेलमा रियलले नौ मा जित निकालेको छ भने युभेन्टस आठमा विजयी भएको छ । युभेन्टस च्याम्पियन्स लिगमा धेरैपटक सेमिफाइनलमा पुग्ने एक्लो टिम हो ।
अहिलेसम्म युभेन्टस ७ पटक अन्तिम चारमा पुगेको छ । घरेलु मैदानमा युभेन्टस २७ खेलदेखि अपराजित रहँदै आएको छ । जसमा उसले १६ खेलमा जित निकालेको छ भने बाकीँ खेलमा बराबरी खेलेको छ ।
त्यसमा पनि रियलविरुद्ध घरेलु मैदानमा १९६२ पछि हारेको छैन । यता रियल १३ औं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । युभेन्टसविरुद्धको खेलमा रोनाल्डोको प्रदर्शन जहिले पनि राम्रो रहँदै आएको छ । उनले युभेन्टस विरुद्धका पछिल्ला पाँच खेलमा सात गोल गरेका छन् ।
अर्को खेलमा सेभिल्लाले जर्मन जाइन्ट बार्यन म्युनिखसँग खेल्नेछ । क्वाटरफाइनलमा म्यानेचस्टर युनाइटेडलाई हराएको सेभिया घरेलु मैदानमा पाँच पटकको च्याम्पियन बार्यनलाई हराउँदै नयाँ इतिहास बनाउने लक्ष्यमा छ । अन्तिम पटक १९५८ मा युरोपियन कपको क्वाटरफाइनलमा पुगेको सेभिल्ला यसपटक बार्यनलाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने योजनामा छ ।
तर बलियो क्लब बार्यनविरुद्ध जित निकाल्न त्यति सजिलो भने हुनेछैन । यो खेलमा बार्यनको पहिलो रोजाइका गोलकिपर म्यानुयल म्युएर, मिडफिल्डर किङस्ले कोमन र डिफेन्डर जुवा बेर्नाट विना नै मैदानमा उत्रनेछन् । यी दुई टिम पहिलो पटक च्याम्पियन्स लिगमा खेल्न लागेका हुन । सेभिल्ला च्याम्पियन्स लिगका पछिल्ला पाँच खेलमा अपराजित रहेको छ ।


