![]()
कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल)(२ क्रिकेटको तेस्रो दिनको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ । यो जितसँगै काठमाडौंले दोस्रो जित हात पारेको छ भने रुपन्देहीले लगातार दोस्रो हार व्यहोरेको छ ।
१८७ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको रुपन्देही च्यालेन्जर्सले १८.४ ओभरमा १२३ रन मात्रै बनाउन सक्यो । रुपन्देहीको तर्फबाट सर्वा्धिक प्रदीपसिंह ऐरीले ५७ रन जोडे । यस्तै सागर पुनले १८ र दीपक प्रसादले १० रन जोडे । रुपन्देहीका अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन् ।
काठमाडौंका रसिद खानले ४ विकेट र ललित राजवंशीले ३ विकेट र साहब आलमले २ विकेट लिए ।
यसअघि टस जितेर व्याटिङ रोजेको काठमाडौं गोल्डेन्सले २० ओभरको खेलमा ४ विकेट गुमाइ १८६ रन बनाएको थियो । काठमाडौं गोल्डेन्सबाट सन्नी पटेलले १९ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४८ र नरेश बुढाऐरले १८ बलमा २ चौका र २ छक्का प्रहार गरी ३० रन बनाएका थिए । माथिल्लो क्रममा ओपनरद्वय अमित श्रेष्ठले ३० र सुबोथ भाटीले ४२ रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्ल २० र भुपेन्द्र थापा १४ रनमा आउट भए।


