![]()
कैलाली । टिम चौराह धनगढीले कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा सीवाईसी अत्तरियालाई धनगढीले ३ विकेटले पराजित गरेको हो ।
१५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १९.२ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेटायो । धनगढी कुनै बेला हार नजिक पुगेको थियो । तर ब्याटिङ गर्न आएका कप्तान सोमपाल कामीले १५ बलको सामना गर्दै नटआउट ३८ रन बनाए ।
धनगढीका लागि विदेशी खेलाडी रोहन मुस्ताफाले ४० रन बनाए । त्यस्तै, राजेश पुलामी मगरले २१, अश्फक अहमद र राजु रिजालले समान १०–१० रन बनाए ।
जित नजिक पुगेर पनि पराजित भएको सीवाईसी अत्तरियाका लागि सबैभन्दा बढी रन कमलसिंह ऐरीले खाए । उनले ३ ओभर बलिङ गरेर ४५ रन खर्चेका थिए । सीवाईसीका लागि दीपेन्द्रसिंह ऐरी र शुभांकर उराओले समान २–२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा १५० रन बनाएको थियो । सिवाईसीका लागि प्रेम तामाङ र विपिन चन्द्राले समान २८–२८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले भने १९ रन जोडेका थिए ।
धनगढीका लागि ललित भण्डारीले ३ विकेट लिए ।


