![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउन खोज्नेहरुलाई सरकारले ठीक पार्ने चेतावनी दिएका छन ।
जैन धर्मका प्रर्वतक भगवान महाविरको २६ सय १७ औ जन्मदिवसको अवसरमा बिहिबार राजधानीको जैन भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकता शान्ति र अमनचयन भएको प्रष्ट पारे ।
नेत्रविक्रम विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना गतिविधिलाई तिब्रता दिइरहेका बेला प्रधानमन्त्री ओलीले कसैले आफ्नो स्वार्थ, अहम् र जिद्धिका लागि बनाएको सिद्धान्त र तीनका क्रियाकलाप सरकारलाई स्वीकार्य नभएको बताए ।
विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा वारेन्ट पत्र टाँसेको भोलिपल्टै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले केही दिनयता नियतबस जातजाति र धर्मका नाममा उत्तेजित पार्ने काम भइरहेको भन्दै सरकारले समयमै यस्ता दुश्प्रयासलाई रोक्नुपर्ने बताए ।


