![]()
काठमाडौ,चैत ।
भारत भ्रमण अघि नै पार्टी एकता घोषणा गर्ने प्रधानमन्त्री केपी ओलीको योजना असफल भएको छ । भारत भ्रमण अघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सम्भावना टरेको स्वयम् एकता संयोजन समिति मै रहेका नेताहरुले बताउन थालेका छन् । ती नेताहरुका अनुसार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अप्रिल २२ को अवसरमा समेत पार्टी एकीकरण हुने निश्चित छैन ।
प्रधानमन्त्री ओली २३ चैतमा भारतको तीन दिने राजकीय भ्रमणमा जाने तयारी छ । एमाले अध्यक्ष समेत रहेका ओलीले त्यसअघि नै पार्टी एकता गर्न चाहेका थिए । तर, माओवादीले पार्टीका सबै तहमा बराबरी हैसियत मागेपछि एकता प्रक्रियामा ब्रेक लागेको छ ।
पार्टी एकताका लागि अन्तरिम बिधान र संगठन एकीकरणको मापदण्ड टुंगो लगाउन बनेको कार्यदलले भने चुनाव चिन्ह बाहेक अन्य विषय टुंगो लगाएर प्रतिवेदन तयार पारिसकेको छ । चुनाव चिन्ह भने सूर्य राख्ने कि अर्को चिन्ह खोज्ने भन्नेमा कार्यदलमा सहमति नभएको कार्यदलमा रहेका एक माओवादी नेताले बताए । उनका अनुसार माओवादी एकीकृत कम्युनिस्ट पार्टीको चुनाव चिन्ह सूर्य नराख्ने पक्षमा छ ।
एमाले सूर्य चिन्ह छाड्ने पक्षमा छैन । एमाले नेताहरुले सूर्य चिन्ह आम जनताबीच लोकप्रिय रहेको र यसअघि गरेको हस्ताक्षर समेत स्मरण गराएका छन् । माओवादीले भने कुनै तेस्रो चिन्ह खोज्ने वा सूर्यभित्र हँसिया हथौडा राख्ने प्रस्ताव अघि सारेको छ ।
गत दशैंमा वाम गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्ने क्रममा माओवाादी सूर्य चिन्हमा सहमत भएको थियो तर, प्राविधिक कारण देखाएर पछि हटेको थियो ।


