![]()
रौतहट,चैत ।
जिल्लाको चन्द्रपुर नगरपालिका–५, तल्लो बजारमा रहेको एक हार्डवेयर गोदाममा आगलागी भएको छ । बजारमा रहेको राहुल हार्डवेयर गोदाममा बिहानैदेखि आगलागी भइरहेको हो । बिहान साढे ६ बजेबाट लागेको आगो नियन्त्रणका लागि प्रयास भइरहे पनि सफल हुन सकेको छैन । प्लास्टिक, प्लाइउड र फलामका सामानहरुको ठूलो गोदाममा आगो लागेकाले निभाउन समस्या परिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले चन्द्रपुर नगरपालिका–५, तल्लो बजारमा रहेको राहुल हार्डवेयरमा बिहानैदेखि लागेको आगो नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिए ।
प्रहरी उपरीक्षक पोखरेलका अनुसार, आगो नियन्त्रणका लागि गौर र चन्द्रपुर नगरपालिकाको अग्नी नियन्त्रकसँगै बारा, सर्लाही र हेटौंडाबाट समेत दमकल ल्याइएको छ ।
अहिले ५ दमकलसँगै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो हार्डवेयर पसलमा लागे पनि अन्यत्र भने फैलिएको छैन । प्रहरीले अन्य घरहरूमा आगो फैलन नदिन सतर्कता अपनाएको जनाएको छ ।
आगलागी विद्युत्त सर्टका कारण लागेको प्रारम्भिक अनुमान गरिए पनि ठोस कारण पत्ता लागिसकेको छैन ।


