Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमाले र माओवादी केन्द्रबीच चैत २० अगावै एकता, २३ गते प्रधानमन्त्री ओलीको भारत भ्रमण

Loading

काठमाडौ,चैत ।
वैशाख ९ गते गर्ने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रधानमन्त्रीको भारत भ्रमणका कारण अघि गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जाने तयारी छ । त्यसभन्दा अघि नै दुवै कार्यदलले काम सकेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको माओवादी केन्द्र स्रोतको भनाई छ ।
दुई तिहाइ समर्थन प्राप्त प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जाँदा एकीकृत पार्टीका अध्यक्षका हैसियतले पनि प्रस्तुत हुने मनशाय देखाएपछि सोहीअनुसारको तयारी गरिएको स्रोतले जानकारी दियो । भारतीय विदेश मन्त्रालयले औपचारिक निमन्त्रणा पठाएपछि मात्रै भ्रमणको टुंगो लाग्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
भारतले आन्तरिक तयारी गरे पनि औपचारिक निमन्त्रणा भने अन्तिममा पठाउने प्रचलन छ । त्यसैकारण २० गते अघि नै सकेसम्म पार्टी एकता गरेर २३ गते जाने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । यसबारेमा दुवै पार्टीका शीर्ष नेताहरुबीच पनि छलफल भइसकेको छ । सोहीअनुसार आइतबारबाटै प्रतिवेदन र विधान सम्बन्धि कार्यदलले बाँकी काम टुंग्याउनेगरी तीव्रता दिएका छन् ।
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले पनि माओवादी केन्द्रको आन्तरिक बैठकमा अध्यक्ष प्रचण्डले भ्रमण अगावै पार्टी एकता टुंग्याउने विषयमा दुई अध्यक्षबीच भएको छलफलका बारेमा जानकारी गराएको बताए ।
त्यही भावनाअनुरू दुवै कार्यदलले काम थालेको र भ्रमण अगावै एकता गर्ने विश्वास व्यक्त गरे । उनले दुवै कार्यदलले मस्यौदा बुझाएपछि चैत १५ मा पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यसलाई टुंग्याइने जानकारी दिए ।
भारत भ्रमण अगावै पार्टी एकता गर्दा अध्यक्ष ओली एकीकृत पार्टीको अध्यक्षको रूपमा पनि प्रस्तुत हुनेछन् । दुई तिहाइ समर्थन प्राप्त र ठूलो कम्युनिस्ट पार्टी प्रमुखले राजकीय भ्रमण गर्दा त्यसको ठूलो राजनीतिक अर्थ हुने राजनीतिक विश्लेषकले दावी गरेका छन् ।
तर, पार्टी एकता गरेर भारत भ्रमणमा जानुका पछाडि राजनीतिक कारण खोज्न नहुने तर्क पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed