Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा र पौडेलपक्षबीच घम्साघम्सी

Loading

काठमाडौं । निर्वाचनको समीक्षा गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सस्थापन पक्ष र वरिष्ठ नेता रामचन्दै पौडेल पक्षधर नेताहरुबीच आरोप प्रत्यारोप र सवाल जवाफ चलेको छ ।

शुक्रवार सुरु भएको बैठकमा पौडेल पक्षीय नेताहरुले सभापति शेरबहादुर देउवाको तेजोबोध गर्न थालेपछि देउवा पक्षीय नेताहरु प्रतिवादमा उत्रिन बाध्य भएका हुन ।

पहिलो दिन प्रकाशमान सिंह, कृष्ण सिटौला र डा. नारायण खड्काले देउवालाई निशाना बनाएका थिए । उनीहरुले देउवाको अकर्मण्ड्यताका कारण पार्टी समाप्त हुन थालेको बताएका थिए ।

बैठकको दोस्रो दिन शनिवार हरि नेपाल, नवीन्द्रराज जोशी र नरहरि आचार्यले आफ्नो धारणा राखेका छन्। उनीहरुले चुनावी समयको मूल्यांकनकासाथै पार्टीको विगतदेखि अहिलेसम्मकै समग्र गतिविधिहरूबारे धारणा राखेका थिए ।

नेता नेपालले पार्टीलाई सामूहिक नेतृत्व जिम्मेवारी बनाएर जनतासँग सुमधुर सम्बन्ध राख्न सक्ने खालको बनाउनुपर्ने धारणा राखे। त्यस्तै, नेता जोशीले पार्टीले जनतासँग सुमधुर सम्बन्ध स्थापित गर्न लागिरहँदा पार्टी सभापति र नेता रामचन्द्र पौडेलबीचको सम्बन्ध राम्रो नहुँदा जनतासँग कसरी सम्बन्ध बढाउन सकिन्छ? भन्दै यसप्रति नतृत्वले ख्याल गर्नुपर्ने बताए। उनले भने,’पार्टी नेतृत्वमै एकापसमा मतभेद हुँदा पार्टीलाई जनतासँग सम्बन्ध बढाउन र जीवन्त राख्न समस्या हुन्छ।’

नेता आचार्यले आरोप प्रत्यारोपले पार्टीलाई नवजीवन प्रदान गर्न नसकिने हुनाले सहमतिकै बाटोबाट अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। नेता आचार्य ०७२ फागुन २६ गते तत्कालीन पार्टी सभापति सुशील कोइरालाको दिन मस्तिष्क पक्षघातबाट बिरामी भएदेखि कांग्रेस बैठकमा पहिलोपटक आएका हुन्।

बैठकमा देउवा पक्षीय नेताहरुले अहिलेसम्म नबोलेपनि बैठक बाहिर पौडेल पक्षीय नेताहरुसंग चर्काचर्की हुने गरेको छ । उनीहरुले आइतबारपछि पौडेल पक्षीय नेताहरुलाई मुखभरीको जवाफ दिने तयारी गरेका छन । यसका लागि बिमलेन्द्र निधिले बिशेष तयारी गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed