![]()
नवाकोट । नेपाली कांग्रेसमा निर्वाचनमा भएको पराजयसंगै फैलिएको आगो निभ्नुको सट्टा झन दनदन बलिरहेको छ । स्थानीय तहदेखि केन्द्रसम्म संस्थापन र पौडेलपक्ष भनेर गुट बनेको छ । अझ संसदीय दलको निर्वाचनपछि त प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई चुनौती दिएपछि आगो झन बलेको छ । युवा नेता भन्दै गगन थापाहरुको सभापति देउवाबिरुद्धको अभियान पनि जारी छ ।
चैत ९ गते केन्द्रीय समिति बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले देउवाबिरुद्ध मोर्चाबन्दीको गृहकार्य सुरु गरेका छन । यसैको पृष्ठभूमीमा बुधवार कांग्रेसका शीर्ष नेताहरुको नुवाकोटको एक कार्यक्रममा एउटै मञ्चमा देखा परेका छन ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलनका लागि सबै शीर्ष नेता एउटै मञ्चमा उपस्थित भएका हुन । कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला लगायत उपस्थित थिए । भेटमा सबैले आपसमा हाँसो खुशी बाँडे पनि मनमा भने असन्तुष्टि छताछुल्ल थियो ।
संस्थापन पक्ष र पौडेल पक्षका नेताहरु एक आपसमा व्यङग्य गर्नमै समय खर्चिरहेका थिए । भावी योजना, सरकारका गतिविधि लगायतका बिषयमा उनीहरुबीच कुरै उठेन । खाली एक अर्काको आलोचना र दोषारोपण मात्रै ।
भेलाले कांग्रेसभित्रको गुटगत प्रवृत्तिको समेत अन्त्य गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएपनि त्यसको कुनै संकेत त्यहाँ थिएन । जननायक गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिको अवसर बनाएर आयोजना गरिएको सम्मेलन बन्द सत्रसहित प्रशिक्षण र ९ गते रसुवाको स्याफ्रुबेंसीमा समीक्षा बैठकसहित सम्पन्न हुने छ ।


