![]()
काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने बताएकी छिन । काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भनिन, ‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्याउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु।’
मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्र्तगर्त स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जाडिएको विषय भएको बताईन् । उनले भनिन,‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पूनः सूचारु भएको छ।’
आफूले कडा रुपमा मेलम्चीबाट छिटोभन्दा छिटो काठमाडौं भित्रिने मुख्यद्धार रहेको सुन्दरीजलसम्म पानी ल्याउनेगरि निर्माण कार्यलाई अघि बढाउन निर्देशन समेत दिएको उनले बताइन । उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्धार) ‘ब्रेक–थु्र’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन् ।


