![]()
बीबीसी । अफगानिस्तानको राजधानी काबुलमा गरिएको एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । उक्त घटनामा १८ जना भन्दा बढी घाइते भएका छन्।
प्रारम्भिक विवरणहरूका अनुसार एक जना संदिग्ध आक्रमणकारीले नयाँ वर्षको उत्सव मनाउन भेला भएका सयौँ मानिसहरूको भिडलाई निशाना बनाएको थियो। त्यो उत्सवका अधिकांश सहभागीहरू अल्पसङ्ख्यक सिया समुदायका मानिसहरू थिए।
हताहत भएका व्यक्तिको सङ्ख्या बढ्न सक्ने बताइएको छ। अहिलेसम्म कसैले आक्रमणको जिम्मेवारी लिएको छैन।
पछिल्लो समयमा सियाहरूमाथि आक्रमणका घटना बढेका छन्। ती अधिकांशको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिने गरेको छ।
आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले बताएअनुसार पैदल आएको एक जना आत्मघाती आक्रमणकारीले एउटा धार्मिक स्थलतिर प्रवेश गर्न लाग्दा उसलाई प्रहरीले चिनेपछि आफूसँग भएको विस्फोटक पदार्थ पड्काएको थियो।


