![]()
बीबीसी । म्यानमारका राष्ट्रपति टिन च्वले पदबाट राजीनामा दिएका छन । उनले राजीनामा दिनुको कारणबारे केही खुलाइएको छैन।
एउटा औपचारिक कार्यक्रममा एकदमै कमजोर देखिएका ७१ वर्षीय च्वको स्वास्थ्य अवस्थाबारे पछिल्ला महिनाहरूमा चासो व्यक्त गरिँदै आएको थियो। दशकौंदेखिको सैनिक शासन अन्त्य गराएको महत्त्वपूर्ण चुनावपछि सन् २०१६ मा उनी राष्ट्रपति बनेका थिए।
वास्तविक शक्तिको अभ्यास नेत्री आङ सान सूचीले गर्ने भएकोले च्व आलङ्कारिक भूमिकामा मात्रै थिए। सैनिक शासनका बेला जेलजीवन बिताएकी सूचीलाई देशको उच्च पदमा बस्न प्रतिबन्ध छ।
एउटा संवैधानिक व्यवस्था अनुसार अरू देशको नागरिकको बच्चा भएको व्यक्ति राष्ट्रपति हुन पाउँदैन । नेत्री सूचीलाई सत्तामा आउन नदिने उद्देश्यले उक्त व्यवस्था राखिएको बताइन्छ।
ब्रिटिश नागरिकसँग बिहे गरेकी सूचीका दुई छोरा छन्। उनको श्रीमनको चाहिँ निधन भइसकेको छ। टिन च्व नेत्री सूचीको बाल्यकालका साथी, लामो समयदेखिको सल्लाहकार र कुनैबेलाका सवारी चालक पनि हुन्। उनलाई शान्त स्वभावका र सूचीले पूर्णरूपमा विश्वास गर्न सक्ने व्यक्तिका रूपमा हेरिन्छ।
सन् २०१५ को नोभेम्बरमा भएको निर्वाचनमा सूचीको न्यास्नल लिग फर डेमोक्र्यासीले ठूलो जित हासिल गरेको थियो।


