![]()
काठमाडौ,चैत ।
पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएसँगै नेपाली क्रिकेटको अहिले सर्वत्र चर्चा र चासो छ ।एकदिवसीयको अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाउनेछ । विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनी र नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले यो ऐतिहासिक सफलता पाएको हो । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता इन्टरकन्टिनेन्टल कप एसोसिएट राष्ट्रको सबैभन्दा उच्च स्तरको प्रतियोगिता हो । यो चार दिवसीय फम्र्याटमा हुने गर्छ ।
आईसीसीले यही प्रतियोगिताको प्रदर्शनका आधारमा पनि एसोसिएट राष्ट्रलाई टेष्ट मान्यता दिने–नदिने टुंगो लगाउने गर्दछ । सन् २०१५ देखि २०१७ सम्म भएको इन्टरकन्टिनेन्टल कपको विजेता अफगानिस्तान र उविजेता बनेको आयरल्याण्डले टेष्ट मान्यता पाएका छन् ।
नेपालले पनि एक दिवसीय मान्यता पाएसँगै यो प्रतियोगिता खेल्न पाउनेछ । नेपालको भविष्यसँग जोडिएको प्रतियोगिताको रुपमा यसलाई हेरिएको छ । सन् २०१५ देखि २०१७ सम्म चलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले सहभागिता जनाएको थियो, जुन प्रतियोगितामा नेपालले खराब प्रदर्शन गर्दै सातौ स्थानमा परेर रेलिगेशन हुदै डिभिजन टु मा घटुवा भएको थियो । विश्वकप छनोटबाट नेपालले २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएसँगै पुनः आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ ।
नेपालले एसोसिएट राष्ट्रको रुपमा जति रकम आईसीसीबाट पाउने गरेको थियो, अब त्यो बढ्नेछ । उच्च कोटीको प्रशिक्षक, खेलाडीलाई दिइने सुविधा, विभिन्न देशमा प्रशिक्षण तथा एक दिवसीय सिरिज खेललगायतका सुविधा नेपालले आईसीसीबाट पाउनेछ ।
नेपालले २०२२ सम्मका लागि प्रत्येक वर्ष करिब ८ करोड रुपैयाँ आईसीसीबाट पाउनेछ । त्यसो त अब नेपाल पनि आईसीसीको बरियतामा आएको छ । अब नेपालले खेल्ने खेलअनुसार आईसीसीको बरियतामा आउनुका साथै खेलाडीको प्रदर्शनको लेखाजोखा पनि हुनेछ । यसका साथै नेपालले आफूभन्दा ठूला राष्ट्रसँग एक दिवसीय सिरिज खेल्ने अवसर पनि पाउने भएको छ ।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको श्रेय सबै खेलाडी र प्रशिक्षकलाई नै जान्छ । नेपाल क्रिकेट संघ (क्यानं) बिनै नेपाली क्रिकेटले ऐतिहासिक सफलता पाएको छ । तर, क्यानबिना नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नु मुस्किल नै छ । आईसीसीले दिने फन्ड सञ्चालन गर्ने र नेपाली क्रिकेटको विकास गर्ने क्यान नभए एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनुको कुनै अर्थ छैन । २०७२ मा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावक बिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । क्यान विवाद अन्त्य भई निलम्बन फुकुवा नहुने हो भने नेपालले पाएको यो ऐतिहासिक सफलता गुम्नेछ ।


