![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डा. बाबुराम भट्टराईलाई गल्ती सच्याउँदै पार्टीमा फर्कन आग्रह गरेका छन्।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले भने, ‘ गल्ती सच्याएर पार्टीमा फर्कनुस, पछि माथि जान आनन्द हुन्छ । नफर्के स्वर्गमा पनि भट्टराईले बास पाउने छैनन । ’
अध्यक्ष दाहालले भने, ‘हाम्रो त भनाइ बाबुरामजीहरू समेत यहीँ जोडिन आउनुपर्छ भन्ने हो। नत्र कुनै भविष्य छैन। मैले त उतिबेलै भनेको हो बाबुराम जीलाई गल्ती गर्नुभएको छ तपाईले। ब्लन्डर गर्नुभएको छ। धेरै ठूलो भूल गर्नुभएको छ। यसको पश्चाताप गरेर फर्कनु पर्ने हुन्छ उहाँले। अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ। उहाँलाई नत्र पोलेको पोल्यै हुन्छ। दुःख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हामीलाई।’
अध्यक्ष दाहालले विप्लव समूहलाई पनि पार्टीमा फर्कन आह्वान गरे । जनताको आर्थिक विकास र सम्वृद्धिको चाहना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वामगठबन्धनको पक्षमा आफू उभिएको उनले बताए ।
लक्ष्मण गुरुङ, मिनबहादुर सुनार, इन्द्रप्रसाद गुरुङलगायत १९ जना कार्यकर्ता बिहीबार माओवादी केन्द्रमा फर्किएका हुन् ।


