![]()
काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको युएस बांग्ला एयरलाइन्सको विमानका पाइलट अबिद सुल्तान जीवित रहेको जानकारी ढाकास्थित कम्पनीको कार्यालयले दिएको छ । जहाजकी को पाइलट पृथुला रशिद काठमाडौँ मेडिकल कलेज हस्पिटलमा उचारको क्रममा मृतक भएको पनि कम्पनीले जनाएको छ ।
७८ सीट भएको बम्बार्डियर ड्याश ८ क्यु ४०० जहाज सोमबार बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्री र ४ जना चालक दलका सदस्य लिएर काठमाडौँका लागि उडेको थियो । काठमाडौँमा अवतरण गर्ने क्रममा दिनको २ः२० बजे जहाज दुर्घटना भयो, जसमा ४९ जनाले ज्यान गुमाए ।
ढाकाबाट प्रसारित विवरणमा नयाँ तथ्यहरु बाहिर आएका छन् । पाइलट अविद सुल्तानलाई कम्पनीले ४ वटा लगातार उडान भर्ने दायित्व सुम्पेको थियो । काठमाडौँ आउनुअघि उनले क्यानाडादेखि ढाकासम्म करिब १६ घण्टा जहाज उडाएका थिए ।
बीचमा आरामको समय नपाएकाले पाइलटको थकान र त्यसबाट निर्णय क्षमतामा पुगेको असरबारे यसले नयाँ बहसलाई जन्म दिने देखिन्छ । त्रिभुवन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर हरुको सम्बादबाट पाइलटले टावरको निर्देशनका बाबजूद बाटो बिराएको प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनामा जीवित रहेका यात्रुहरुको बिवरणले जहाज अवतरण अघि नै कम्पन महसूस भएको देखाएको छ । यसबाट जहाजमा प्राविधिक खराबी थियो कि थिएन भन्ने बारे छुट्टै जांच हुनेछ । पाइलट जीवित रहेकाले प्राविधिक पक्षबारे थप प्रकाश पार्न जाँचबुझ समितिलाई सजिलो हुनेछ ।


