![]()
मड्रिड,फागुन ।
स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिडले इबरलाई पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले इबरलाई २ – १ ले हराएको हो । घरेलु मैदानमा रियलले इबरमाथी संघर्षपूर्ण जित निकालेको हो ।
रियललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । इबरका इभान रामिसले एक गोल फर्काएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । सान्टियागो बेर्नाबेउमा खेलको ३४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १ – ० ले पछि परेको इबरले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ५० औं मिनेटमा इभानले गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर, खेलको ८४ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २ – १ को महत्वपूर्ण जित दिलाए । यो जितसँगै रियलले शीर्ष दुई स्थानमा रहेको बार्सिलोना र एथ्लेटिको मड्रिडसँग अंक दुरी कम गरेको छ । लिगको तेस्रो स्थानको रियल मड्रिडले २८ खेलबाट ५७ अंक जोडेको छ । पराजित इबर ३९ अंकसहित आठौं स्थानमा छ । लिगमा लिग लिडर बार्सिलोनाको ७२ अंक छ भने एथ्लेटिको ६१ अंक छ ।


