Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अमेरिकामा राष्ट्रपति ट्रम्पका ज्वाईंको ‘घटुवा’

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरलाई ह्वाइट हाउसका गोप्य कागजातहरूको पहुँचमा घटुवा गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

ट्रम्पका एक उच्च सल्लाहकार रहेका कुश्नरले उच्चस्तरको सुरक्षासम्बन्धी रिपोर्ट पाउने गरेका थिए। गोप्य कागजातहरूमा पहुँचका लागि स्थायी अनुमति नपाएका जारेड कुश्नर र ह्वाइट हाउसका अन्य सहयोगीहरूले अब उप्रान्त उच्चस्तरका सुरक्षा रिपोर्ट पाउने छैनन्।
ट्रम्पकी छोरी इभांकासँग बिहे गरेका कुश्नरको राष्ट्रपतिलाई गराइने दैनिक गुप्तचर जानकारीमा पहुँच रहिआएको थियो।

कुश्नरका वकिलले पोलिटिको म्याग्जिनलाई पछिल्लो निर्णयबारे जानकारी गराएका हुन्। नाम नखुलाइएका अरू दुईजना अधिकारीहरूले पनि समाचार संस्था रोयटर्सलाई त्यसबारे जानकारी गराएका थिए।

कुश्नरका वकिल एबी लोवेललाई उद्धृत गर्दै पोलिटिकोले पछिल्लो निर्णयका कारण राष्ट्रपतिले अह्राएका महत्त्वपूर्ण कामहरूलाई जारी राख्न कुश्नरमाथि कुनै असर नपर्ने जनाएको छ।

ह्वाइट हाउसले गोप्य दस्तावेजहरूमा पहुँचबारे अनुशासनका ठूलो कदम चालेपछि पछिल्लो खबर बाहिर आएको हो।
यसै महिनाको शुरूतिर राष्ट्रपति ट्रम्पका ’चिफ अफ स्टाफ’ जोन केलीले उच्च सुरक्षा दस्तावेजहरूमा पहुँच पाउने मानिसहरूको संख्या सीमित पार्ने बताएका थिए।

यसअघि घरेलु हिंसाका आरोप लागेको अवस्थामा पनि ट्रम्पका एक पूर्वसहयोगी रब पोर्टरले गोप्य दस्तावेजहरूमा पहुँच पाउने गरेका विवरणहरू सार्वजनिक भएका थिए। राजनीतिक अनुभव नभएका कुश्नरलाई ह्वाइट हाउसका एक सल्लाहकारका रूपमा ठूलो जिम्मेवारी दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed