Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । चीन सरकारले आफ्नो देशका फर्म र पानीजहाजबाट सामान ओसारपसार गर्ने कम्पनीहरूमाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई आग्रह गरेको छ।

उत्तर कोरियासँग व्यापार गर्ने भनिएका चिनियाँ फर्म र पानीजहाजबाट सामान ओसारपसार गर्ने कम्पनीहरूमाथि वाशिङटनले प्रतिबन्ध लगाएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । यस्ता कम्पनीहरूमाथि अनुसन्धान गर्ने र तिनीहरूलाई दण्डित गर्ने जिम्मेवारी आफ्नो भएको बेइजिङले स्पष्ट पारेको छ ।

शुक्रवार अमेरिकाले घोषणा गरेका नयाँ प्रतिबन्धहरू चीन, सिंगापुर र पनामासहित कैयौँ मुलुकका व्यापार र कम्पनीहरूप्रति लक्षित छन्।
गत हप्ताको शुरूतिर जापानी सैनिकले एउटा उत्तर कोरियाली पानीजहाजले चिनियाँ अक्षर लेखिएको जहाजबाट सामानहरू ओसार्दै गरेको फोटो खिचेका थिए। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध ’अहिलेसम्मकै सबैभन्दा कडा’ नाकाबन्दीहरु लगाइने घोषणा गरेका थिए।

उत्तर कोरियाले आफ्नो पारमाणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले ताजा प्रतिबन्धहरू लगाउनुपरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। ट्रम्पकी छोरी इभांका दक्षिण कोरिया पुगेको केही घण्टाभित्रै प्रतिबन्धको घोषणा गरिएको थियो। उनले त्यहाँ उत्तर कोरियाविरूद्ध अत्यधिक दबाव दिन आह्वान गरेकी थिइन्।

गत डिसेम्बरमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न प्रतिबन्धहरू लगाएको थियो। अमेरिकाले गत एक दशकदेखि नै उत्तर कोरियाविरुद्ध विभिन्न प्रतिबन्धहरू लगाउँदै आएको छ।
हालै उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आए पनि अमेरिकी अधिकारीहरू प्योङयाङ्को पारमाणविक खतरा कायमै रहेको बताउँछन्।

गत वर्ष उत्तर कोरियाले वाशिङटनसम्मै मार हान्न सक्ने क्षमता भएको भनिएको लामो दूरीको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो। तर कतिपयले त्यो उत्तर कोरियाली प्रचारबाजीको एउटा हिस्सा हुन सक्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.