![]()
एजेन्सी । भारतले घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको टि – ट्वान्टी क्रिकेट सिरिज २–१ ल्े जितेको छ । अन्तिम तथा तेस्रो टि – ट्वान्टीमा दक्षिण अफ्रीकालाई ७ रनले हराउदै तीन खेलको सिरिज भारतले जितेको हो ।
केप टाउनमा भारतले दिएको १७३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो । सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले २८ रनको जित निकालेको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रीका ६ विकेटले विजयी भएको थियो ।
टि – ट्वान्टी सिरिजको निर्णायक खेलमा कप्तान जेपी डुमिनीले ५५ रनको अर्धशतकीय पारी खेलेपनि दक्षिण अफ्रीकालाई जित दिलाउन सकेनन । त्यस्तै दक्षिण अफ्रिकाका लागि क्रिस्टियन जोन्करले ४९ , डेविड मिलरले २४ तथा फरहान बेहार्डियनले अविजित १५ रन जोडे । भारतका भुवनेश्वर कुमारले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । भारतको लागि शिखर धवनले ४७ तथा सुरेश रैनाले ४३ रनको योगदान दिए । यस्तै हार्दिक पण्डयले २१ रन बनाए । दक्षिण अफ्रिकाका लागि जुनियर डालाले तीन विकेट लिदा क्रिस मोरिसले दुई विकेट लिए ।


