![]()
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले लिगमा १० अंकको अग्रता कायम गरेको छ । ला लिगा अन्तर्गतको पछिल्लो खेलमा इबरलाई २–० ले हराउँदै बार्सिलोनाले आफ्नो अग्रता १० मा पुर्याएको हो ।
बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज र जोर्डी अल्बाले समान एक एक गोल गरेका थिए । १० खेलाडीमा समेटिएको इबरमाथी बार्सिलोनाले दुवै हाफमा समान एक एक गोल गरेको थियो ।
पहिलो हाफको १६ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा फाबियानो ओरेलानाले दोहोरो पहेलो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएपछि इबर १० खेलाडीमा सिमित भएको थियो । जसको फाइदा बार्सिलोनाले लियो । त्यसपछि खेलको ८८ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई २ – ० को जित दिलाए ।
यो जित पछि बार्सिलोनाले लिगमा २४ खेलबाट ६२ अंक जोडेको छ । यो जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिगमा बार्सिलोना दोस्रो स्थानको एथलेटिको मड्रिडभन्दा १० अंकले अघि छ । लिगमा एक खेल खेलेको एथलेटिको ५२ अंक छ ।


