![]()
मोरङ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए लगत्तै प्रहरीले नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको माओवादीप्रति कडा रवैया अपनाएको छ । ओली प्रधानमन्त्री भएको चार दिनमै प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने मात्र होइन उनीहरुको कार्यक्रमसमेत बिथोल्न थालेको छ ।
आइतबार मात्रै प्रहरीले मोरङको विभिन्न स्थानबाट बिप्लवका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढीलाई पक्राउ गरेको छ ।
पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ ।
कार्यक्रममा सहभागी हुन आएका उनीहरुलाई विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा केन्द्रीय नेताहरु हेमन्तप्रकाश वली र पूर्वराज्यमन्त्री पदम राई लगायत छन ।
विराटनगरबाट नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अन्य स्थानबाट नियन्त्रणमा लिइएकालाई सम्बन्धित प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।


