Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

दुई हप्तापछि नेपाल अर्को ठूलो अन्तर्राष्ट्रिय क्रिकेटको परीक्षामा होमिंदैछ। जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप छनोट प्रतियोगिता नेपालका लागि एकातिर उत्कृष्ट दुई स्थानभित्र परेर विश्वकपमा प्रवेश गर्ने बाटो हुन सक्छ भने कम्तीमा पुछारको दुई स्थानभित्र पर्नबाट जोगिएमा नेपाल डिभिजन २ मा फर्किनुपर्ने छैन।

टेष्ट खेल्ने र एक दिवसीय मान्यता पाएका गरी १० राष्ट्र सम्मिलित सो छनोट प्रतियोगिता नेपालका लागि चुनौती र अवसर दुवै हो। जिम्बाब्वेमा दुई हप्तापछि हुने विश्वकप छनोट नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो र कठिन प्रतियोगितामध्ये हुन सक्ने क्रिकेट खेलाडीहरू बताउँछन्।

अवसर

उक्त प्रतियोगितामा के पनि छ भने यसले नेपाललाई एक दिवसीय मान्यता पाएका राष्ट्रहरूसँग पहिलो पटक र टेष्ट मान्यताप्राप्त राष्ट्रहरूसँग दोस्रो पटक सामना गर्ने अवसर दिएको छ। अफगानिस्तान, हङकङ, स्कटल्याण्ड र जिम्बाब्वे रहेको समूहमा नेपाल परेको छ। उनीहरूसँगको प्रतिस्पर्धा नेपाली क्रिकेटलाई प्रमाणित गर्ने अर्को क्षण हुने खेलाडीहरू ठान्छन्।

राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास भन्छन्,”सम्भवतः नेपालले खेलेको सबैभन्दा चुनौतीपूर्ण प्रतियोगिता हुनेछ। यसमा हामी रमाउन सक्नुपर्छ। यो स्तरमा हामी उपयुक्त छौँ भन्ने प्रमाणित गर्न खेलाडीहरूले ‘डरमुक्त’ भएर खेल्न सक्नुपर्छ। अगाडिको बाटो सहज छैन। तर यसलाई अवसरको रुपमा लिने हो भने यो भन्दा राम्रो मौका शायदै पाउला अबको चार वर्षमा। ”

विश्वकप छनोट प्रतियोगिता खेलाडीहरूकै शब्दमा नेपालले अन्तर्राष्ट्रिय रूपमा गुमाएको साख फर्काउने अवसर हुनेछ। किनकि यो प्रतियोगिताको नतिजाले नेपालले एक दिवसीय मान्यता प्राप्त गर्ने अवसर पनि पाउन सक्छ।

त्यस्तै वर्ल्ड क्रिकेट लिग च्याम्पिनयशीप र चार दिवसीय प्रणालीको अन्तरमहादेशीय क्रिकेट प्रतियोगितामा सहभागी हुने ढोका समेत खुल्न सक्नेछ।

क्रिकेट खेलाडी
ब्याटिङ नेपाली टोलीको चिन्ताको विषय बन्दै रहिआएको छ।

चुनौती

नेपाल क्रिकेट संघका प्रमुख कार्य सञ्चालन अधिकृत छुम्बी लामाका अनुसार १० राष्ट्र सम्मिलित प्रतियोगिताको कम्तीमा पुछारको दुई स्थानमा पर्नबाट जोगिए नेपालले अन्य अवसरसहित एक दिवसीय मान्यता पाउनेछ।

उनले भने, “१० राष्ट्रमा चारवटा टेष्ट मान्यता प्राप्त राष्ट्र भइहाले। त्यो बाहेक बाँकी चारवटा राष्ट्रले एक दिवसीय मान्यता पाउनेछ। पुछारको रहेका दुई टोली भने फेरि डिभिजन २ मा झर्ने आइसीसीले जनाएको छ। बाँकी प्रतियोगिताको निर्णय पनि चाँडै हुने बताइएको छ। ”

त्यसका लागि सुधारिएको खेल खेल्नुपर्ने चुनौती खेलाडीहरूसामु छ। प्रतियोगिताका लागि दुई हप्ता मात्र बाँकी भएकोले नेपाललाई थप अभ्यासको समय छैन।

‘आइपीएल प्रवेशसँगै काँधमा ठूलो जिम्मेवारी’

जिम्बाब्वे जानुअघि नेपालले अब हङकङ र युएईसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ।

चिन्ता

त्यसैले मुख्य चिन्ताको विषय रहेको ब्याटिङ सुधार्न १५ वर्ष राष्ट्रिय टोलीका प्रारम्भिक ब्याट्सम्यान रहेका परेश लोहनी सुझाव दिन्छन्।

उनले भने, ” मानसिक रूपमा तयार हुनुपर्छ। म क्रिजमा बस्छु। के छ र तीनवटा डट बल खाउँ। मेडन ओभर खाउँ। नन स्ट्राइक जाने र रन लिन जरूरी छ। त्यसो हुनासाथ विश्वास बढ्छ। यो त ५० ओभरको खेल हो २० ओभरको होइन नि।”

हङकङ र अफगानिस्तानसँग बारम्बार खेलिरहेको हुनाले पुरानो अनुभव नेपालका लागि उपयोगी हुन सक्ने पनि ठानिएको छ।

क्रिकेट खेलाडी
अनुभवी र युवा खेलाडी भएको नेपाली क्रिकेट टोलीमा नयाँ आशा देखिएको बताइन्छ।

पूर्व कप्तान विनोद दासका अनुसार नेपालसँग क्षमता छ, कमी छ त मनोबलको मात्र। तर पुराना अनुभवीसँगै युवा खेलाडीले नामिबियामा देखाएको प्रदर्शनबाट उनी आशावादी देखिन्छन्।

उनी भन्छन् , “ठूलो रन बनाउन अहिले पनि नेपाल पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लमा निर्भर छ। तर राम्रो कुरा के छ भने बिस्तारै १९ वर्षमुनिका खेलाडीहले पनि यो स्तरमा खेल्न सक्ने कुरा देखाइरहेका छन्। जुन भविष्यका लागि राम्रो संकेत हो। ”

अर्कोतर्फ अफ्रिकी राष्ट्र जिम्बाब्वेमा खेल हुनु नेपालका लागि फाइदा हुन सक्ने ठानिएको छ। किनकि नामिबिया र जिम्बाब्वेको मौसम र विकेटमा समानता देखिन्छ।

कप्तान पारस खड्काले भने जस्तै नेपालले फेरि एक पटक प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प देखिंदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.