![]()
बीबीसी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सिरियाली सरकारले आफ्ना नागरिकविरूद्ध रासायनिक अस्त्र प्रयोग गरिरहेको प्रमाण फेला परे सिरियामाथि ’हमला’ गर्ने चेतावनी दिएका छन्।
पत्रकारलाई उनले भने, “जहाँबाट त्यस्ता आक्रमणहरू गरिन्छन् अथवा जहाँबाट आक्रमणको तयारी गरिन्छ त्यहाँ हामीले हमला गर्नेछौँ।“
तर प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएकोबारे फ्रान्सेली गुप्तचर निकायले अहिलेसम्म कुनै प्रमाण फेला नपारको माक्रोंले बताए । गत जनवरीयता सिरियाले संदिग्ध क्लोरिन ग्यास आक्रमण गरेका कैयौँ रिपोर्टहरू सार्वजनिक भएपछि माक्रोंको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो।
विद्रोही नियन्त्रित एउटा शहरमा यसै महिनाको शुरूतिर रसायन भएको एउटा बम खसालिएपछि श्वासप्रश्वासमा समस्या देखिएका नौजनाको उपचार गरिएको थियो। सिरियाली विपक्षीले उत्तर पश्चिमी इड्लिब प्रान्तको साराकेबमा एउटा सरकारी हेलिकप्टरबाट बम खसालिएको जनाएको छ ।
सिरियाली सरकारले रसायनिक अस्त्र प्रयोग गरेको कुरा सशक्त रूपम अस्वीकार गर्दै आएको छ र सर्वसाधारणलाई आफू निशाना नबनाएको बताएको छ । मंगलवार प्यारिसमा बोल्दै फ्रान्सेली राष्ट्रपति माक्रोंले रासायनिक अस्त्रको प्रयोग आफ्नो सरकारका लागि ’लक्ष्मणरेखा’ नाघेको ठहरिने धारणालाई दोर्होयाए।
उनले भने, “सन्धिहरूमा व्याख्या गरिएजस्तो सर्वसाधारणविरूद्ध रासायनिक अस्त्रहरूको प्रयोग गरिएको कुरा हाम्रा निकायहरूले र सशस्त्र बलले पुष्टि गरिसकेका छैनन्। प्रमाणहरू फेला पर्नासाथ मैले जे भनेँ त्यो गर्नेछु। आंतकवादीविरूद्धको लडाइँ नै प्राथमिकता हो।“
गत वर्ष माक्रोंले रासायनिक अस्त्रको प्रयोग गरिए त्यसले ’लक्ष्मणरेखा’ नाघेको ठहरिने र फ्रान्सबाट ’तत्काल जवाफ दिइने’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भनेका थिए।
सन् २०१३ मा दमास्कसमा गरिएको एउटा घातक रायासनिक आक्रमणपछि अमेरिका र रुसले एक वर्ष्भित्र सिरियाली रासायनिक अस्त्रहरूको भण्डारण हटाउने र नष्ट गर्नेबारे एउटा योजनामा सहमति गरेका थिए।


