![]()
काठमाडौ,फागुन ।
नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले माओवादी केन्द्रसंगको पार्टी एकता प्रक्रियामा पदको लागि हंगामा मच्याउनु आवश्यक नभएको टिप्पणी गर्नुभएको छ । पार्टी एकताको क्रममा एमालेको संस्थापन पक्षका केहि जिम्मेवार नेताहरुले प्रधानमन्त्री र एकिकृत पार्टीको अध्यक्ष केपी ओली नै हुनुपर्ने अडान राखिरहेको बेला पूर्वप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता खनालले पार्टीको एउटा पद कसैलाई दिनेबित्तिकै पार्टी बुझाइएको भन्ने आशय व्यक्त गर्नु अनुचित भएको बताउनुभयो । उनले भनेः‘ कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वका आधारमा अघि बढ्छ । र, अहिले जो हाम्रो पार्टी अध्यक्ष हुनुहुन्छ, उहाँ एक्लैले मात्र सिंगो पार्टी हाँकेको होइन । अहिले पनि सामूहिक नेतृत्वका आधारमा यो पार्टी चलिरहेको छ । त्यसैले जोसुकै नेतृत्वमा भए पनि पार्टी सामूहिक निर्णयका आधारमा चल्छ । तसर्थ, पदकै निम्ति कुनै ठूलो हंगामा मच्याउनुपर्ने मलाई लाग्दैन ।’
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नजिकबाट चिन्नु हुने वरिष्ठ नेता खनालले एकतालाई प्रभावित पार्ने सबैभन्दा महत्त्वपूर्ण र केन्द्रीय कडी भनेका पार्टीका कार्यदिशा, नीति र सिद्धान्त रहेको तर यसमा दुवै पार्टी सहमत भईसकेको जानकारी दिनुभयो । एकीकृत पार्टीको कार्यदिशा, नीति र सिद्घान्तलाई कसले राम्ररी हाँक्न सक्छ भन्ने लाग्छ भन्ने प्रश्नको जवाफमा नेता खनालले भनेः‘ यो प्रश्नको जवाफका लागि मथिंगल धेरै दुखाउनुपर्छ जस्तो मलाई लाग्दैन । किनभने, हामीले सामूहिक नेतृत्वको अभ्यासलाई अगाडि बढाउनुपर्छ । अहिले एकीकृत पार्टीको अध्यक्षता गर्न सक्ने व्यक्तिहरू एमाले र माओवादीमा धेरै जना छन् । उहाँहरू दुई जना मात्र होइन । महासचिव र अध्यक्ष भएर मैले पार्टीको नेतृत्व गरिसकेको छु, मै पनि फेरि आँट गर्न सक्छु, पार्टी अध्यक्षका लागि । माधव नेपाल, वामदेव गौतम पनि हुनुहुन्छ । अरू नेताहरू पनि छन् ।’
वि.सं २०७० मा भएको एमालेको संसदीय दलको नेता छनोटका क्रममा हालका पार्टी अध्यक्ष केपी ओलीले‘एक व्यक्ति एक पद’ को अडान लिनुभएको थियो । अहिले पनि उहाँ त्यही अडानमा हुनुहुन्छ कि फेरिसक्नुभयो ? भन्ने प्रश्नको जवाफमा वरिष्ठ नेता खनालले भनेः‘ उहाँका अडान मौसमी नै हुन्छन् । उहाँले त्यतिबेला जे आवश्यकता देख्नुभयो, त्यही अडान राख्नुभयो । अहिले पनि त्यही अडानमा हुनुहुन्छ भन्ने मलाई लाग्दैन । धेरै नेताहरू भएको अवस्थामा‘एक व्यक्ति एक पद’ पनि एउटा सूत्र हो ।
वरिष्ठ नेता खनालले पार्टी एकीकरण गर्दा कार्यदिशा, नीति र सिद्घान्तमा एकरूपता भयो भने अरू सबै कुरा गौण भएको धारणा राख्नुभयो ।


