![]()
उत्तरप्रदेश,फागुन ।
वार्षिक परीक्षाको चौथो दिन भारतको उत्तर प्रदेशमा करिब ६ लाख विद्यार्थी परीक्षाका लागि उपस्थित नभएको उत्तर प्रदेशको शैक्षिक विभागले खबर गरेको छ । वास्तवमा सरकारी अधिकारीहरुले चिट चोर्न नदिएपछि १० प्रतिशत भन्दा बढी विद्यार्थीहरुले परीक्षा नदिएको जानकारी सार्वजानिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्न सरकारले यस वर्ष थुप्रै प्रयासहरु गरिरहेको बताएको छ । चिट चोर्ने विद्यार्थीहरुलाई पक्राउ गर्नकै लागि परीक्षाहलमा भारी सुरक्षाकर्मी खटाइएको छ भने जताततै सिसिटिभी क्यामरा पनि जडान गरिएको बताइएको छ ।
सरकारले विद्यार्थीहरुले बिना कुनै अवरोध परीक्षा दिन पाऊन् भन्ने उद्देश्यले यस्ता तयारी गर्दै आएको छ । तर चिट चोर्न नपाउँदा विद्यार्थीहरु आफैँ परीक्षा दिन नआएपछि भने अर्को समस्या उत्पन्न भएको शैक्षिक अधिकारीहरुले बताएका हुन् ।
एकातर्फ भारतको परीक्षा प्रणाली अत्यन्तै प्रतिस्पर्धात्मक रहँदै आएको छ भने अर्कोतर्फ विद्यालयमा शिक्षाको गुणस्तर पनि उत्तिकै कम भएकाले पछिल्ला वर्षहरुमा विद्यार्थी परीक्षाका लागि चिटमा भर पर्ने गरेको बताइन्छ । विद्यार्थीहरुलाई आफ्नो क्षेत्रको उत्कृष्ट विश्वविद्यालयमा भर्ना हुन कहिलेकाहिँ ९९ प्रतिशत भन्दा बढी आवश्यक पर्ने गर्छ । यस्तोमा उनीहरुले परीक्षा नियन्त्रकलाई नै घुस खुवाउने, उत्तरपुस्तिका लिक गराउने गरेका छन् भने परीक्षाहल भित्र आफन्तहरुको घुसपैठ समेत अहिले सामान्य हुन थालेको बताइएको छ ।
उत्तर प्रदेशको शिक्षा बोर्डकी सचिव नीना श्रीवास्तवले भनिन्ः‘ यो एक प्रकारको सामूहिक र व्यवस्थित अपराध बन्दै गइरहेको छ । हामीले यो प्रवृत्तिलाई रोक्नै पर्छ । शिक्षा क्षेत्रलाई यस खतराबाट मुक्त गराउन हामीले अहिले धेरै जोड दिइरहेका छौँ ।’
तर सरकारको तर्फबाट यस्तो बयान आउँदै गर्दा चिट चोर्न नपाएपछि परीक्षा हल खालि हुँदै गएकामा भने गम्भीर चिन्ता व्यक्त गरिएको छ । तरपनि विद्यार्थीहरुलाई ध्यान दिएर मिहिनेतसाथ पढ्नलाई प्रोत्साहन गर्न सरकारले यस्ता प्रयासहरु जारी राख्ने, सचिव निनाको भनाइ छ ।


