![]()
काठमाडौं । नयाँ सरकार गठन र माओवादी केन्द्रसंग पार्टी एकताको गृहकार्य चलिरहेकाबेला एमाले भित्र भने खैलाबैला मच्चिएको छ । पार्टीकै वरिष्ठ नेता झलनाथ खनालले त सार्वजनिक रुपमै अध्यक्ष केपी ओलीको बैचारिक अडानमाथि प्रश्न उठाउँदै पार्टी एकतामा उनले निर्वाह गरेको भूमिकामाथि समेत शंका व्यक्त गरेका छन ।
एभरेष्ट अनलाइन खबरसंग कुरा गर्दै एमालेका वरिष्ठ नेता समेत रहनु भएका खनालले भने–‘ एकता संयोजन समितिले अपेक्षा अनुरुप काम गर्न सकेको छैन । एकीकरणका लागि बनाएको कार्यदलले साकार रुप लिएको छैन । नेतृत्वमा बसेपछि हेर्नुपर्दैन ? की पार्टी एकता नगर्ने मनशाय हो ? ’
नेता खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष मानेर भनएपनि पार्टी एकीकरण गर्नुपर्ने बताए । उनले भने–‘सबै पद मै लिन्छु भनेर एकता हुँदैन ।सामूहिक नेतृत्वको अभ्यासलाई अगाडि बढाउनुपर्छ । फेरि एक व्यक्ति एक पद भन्ने हाम्रै अध्यक्ष ओली जी हुन । उनी आफनो अडानमा यथावत छन वा फेरिएका छन ? मलाई लाग्छ उनले अडान फेरिसके । ’
‘विस २०७० को संविधानसभाको निर्वाचनपछि एमालेको संसदीय दलको नेता छनोटका क्रममा हालका पार्टी अध्यक्ष केपी ओलीले ’एक व्यक्ति एक पद’को अडान लिएका थिए, अहिले पनि उनी त्यही अडानमा छन कि फेरिए ?’ खनालले बिगत सम्झदै भने । अहिले दुइ पार्टी एक हुँदा नेताहरु पनि धेरै हुनु स्वभाविक हो । यस्तोबेला ‘एक व्यक्ति एक पद’ को सुत्र प्रयोग गर्नु उपयुक्त हुने उनले बताए ।
नेता खनालले परी आए एकीकृत पार्टीको नेतृत्व गर्न पनि आफू तयार रहेको बताए । पार्टीको र देशको सफलतापूर्वक नेतृत्व गरेर आफू प्रमाणित भैसकेको बताउँदै नेता खनालले भने, ‘माधव नेपाल, वामदेव गौतम जी हरु पनि नेतृत्वका लागि सक्षम छन । ’


