![]()
बीबीसी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको बताएका छन् ।
दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भएर स्वदेश फर्कने क्रममा बोल्दै उनले उक्त विषयमा दुई देशबीच ’कुनै मतभेद’ नरहेको बताए । पारमाणविक कार्यक्रमसम्बन्धी तनावका बावजुद शीतकालीन ओलिम्पिक्सले दुई कोरियाबीचको सम्बन्धमा केही सुधार ल्याएको देखिन्छ । तर, उत्तर कोरियाली प्रस्तावदेखि अमेरिकाले आफूलाई परै राखेको छ।
शनिवार उत्तर कोरियाली नेता किम जङ् अनले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनलाई प्योङयाङ्मा वार्ताका लागि निम्तो दिएका थिए । भेट भएमा त्यो दुई कोरियाली नेताहरूबीच एक दशकभन्दा पनि लामो समयपछिको शिखरवार्ता हुनेछ ।
मूनले कोरियाली जनताले त्यसलाई ’सफल पार्न लगाउनुपर्ने’ बताउँदै अमेरिकासँगको वार्तामा फर्कन उत्तर कोरियालाई प्रोत्साहित गरेका छन् । तर दुई देशलाई निकट ल्याउने प्रयासमा प्योङयाङ्को पारणाविक कार्यक्रम तगारो बन्नेछ।
अमेरिकी प्रशासन प्रतिबन्धहरू र राष्ट्रपति डोनल्ड ट्रम्पका कडा अभिव्यक्तिहरूमार्फत उत्तर कोरियामाथि दवाब कायम राख्न चाहन्छ ।
शनिवार स्वदेश फर्कनुअघि पत्रकारहरूसँग कुरा गर्दै उपराष्ट्रपति पेन्सले भने, “उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम नत्यागेसम्म उसलाई आर्थिक र कूटनीतिक रूपमा अलग्याउनुपर्ने आवश्यकताबारे अमेरिका, दक्षिण कोरिया र जापानबीच कुनै मतभेद रहेको छैन।“


