![]()
काठमाडौ,माघ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । आफैंले प्रतिनिधिसभा, राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनु नपर्ने प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निस्कर्ष निकालेको हो ।
प्रमुख सत्तारुढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पुरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनु र नदिनुको औचित्य नभएको बताएका छन् ।
उनले भनेः‘नयाँ जनप्रतिनिधि आएपछि पुरानो सरकार स्वतः कामचलाउ हुन्छ, राजीनामा दिनु पर्दैन । नयाँ जनमतअनुरुप बहुमत पुर्याउने दलको नेता अब प्रधानमन्त्री बन्नुहुन्छ ।’ राष्ट्रियसभा निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको र नयाँ सरकार गठनको ६ वटा विकल्प रहेका छन् ।
राष्ट्रियसभा निर्वाचन परिणामपछि मात्र प्रतिनिधिसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण चुनाव सम्पन्न भएको दुई महिनापछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेको हो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण प्रक्रियाले मूर्तरुप लिन नसक्दा नयाँ सरकार कस्तो र कस्को नेतृत्वमा गठन हुन्छ भन्ने अझै अनिश्चित छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढेका दुई दल एकीकरणसहित सत्ता साझेदारीमा सहमत भए फागुन दोस्रो सातासम्म एमाले अध्यक्ष केपी ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्नेछन् ।
एमाले र माओवादी केन्द्रको संयुक्त सरकार गठन हुन नसके दोस्रो विकल्पमा माओवादीको समर्थनमा एमालेको सरकार गठन हुन सक्ने लेखेको छ । यस्तै फोरमसहित दलको समर्थनमा एमालेको, एमालेको समर्थनमा फोरमको, एमाले बाहेकका दलको समर्थनमा माओवादीको र ठूलो दलको हैसियतमा एमालेको अल्पमतको सरकार बन्नसक्ने विकल्प छन् ।


